arrow

दुःख दिँदै चीन, प्रवेश–पास नवीकरण नगर्दा तिब्बतमै रोकिए सवा सय नेपाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २५ बिहिबार
nepal-china-news-flag.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । चीनले कोरोना भाइरस फैलन शुरु भएको चार वर्षपछि पनि महामारीलाई कारण देखाउँदै नेपालीलाई दुःख दिने काम भने जारी राखेको छ। 

विगत तीन वर्षसम्म सीमा नाका बन्द गर्दै अघोषित नाकाबन्दी गरी नेपाली अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्‍याएको चीनले नेपाली नागरिकलाई दुःख दिने काम भने जारी राखेको छ। 

चीनले प्रवेश–पास नवीकरण नभएको भन्दै एक सय २८ नेपाली चीनको स्वशासित क्षेत्र तिब्बततर्फ रोकेको छ। कोरोना महामारी शुरु भएसँगै लकडाउनका कारण रोकिएका एक सय २८ नेपालीको प्रवेश–पास नवीकरण गराउन नपाएपछि तिब्बततर्फ रोकिएका हुन् । 

१८ बैशाखमा दुईतर्फी कार्गो र आवतजावत खुला भए पनि नेपालतर्फ आवतजावत सहज भइसकेको छैन। नाका खुला भएपछि तिब्बतबाट जम्मा एकजना नेपाली हुम्ला आएका छन् । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार प्रवेश पास नवीकरण नभएकाहरु तिब्बतमै रोकिएका छन् । 

उनले भने, ‘तिब्बतको ताक्लाकोट आसपासमा मजदुरीका लागि पहिले नै गएका एक सय २८ जनाको प्रवेश–पासको म्याद सकिएको छ। म्याद नाघेको प्रवेश–पास लिएर आउन नपाउने चिनियाँ कानुनअनुसार उहाँहरू उतै हुनुहुन्छ। सीमानाका सुचारु भएपछि तिब्बतबाट जम्मा एकजना फर्किनुभएको छ।’ 

सहायक प्रजीअ सुवेदीले ताक्लाकोटमा कर्मचारी पठाएरै भए पनि रोकिएका नेपालीको पास नवीकरण गरी नेपाल फर्काउने गरी तयारी भइरहेको जानकारी दिए । 

तिब्बतमा रोकिएका सबै हुम्लावासी हुन् । हुम्लाका स्थानीय बासिन्दाको मजदूरी र व्यापार गर्ने ठाउँ तिब्बतको ताक्लाकोट र आसपासका क्षेत्र हुन् । दुई देशको नियमअनुसार जिल्ला प्रशासन कार्यालयले बनाएको प्रवेश–पासका आधारमा सीमावर्ती जिल्लाका बासिन्दा एक(अर्को मुलुकमा जान पाउँछन् । प्रवेश–पासको म्याद एक वर्ष तोकिएको छ। तीन वर्ष तिब्बतमै रोकिएका कारण नेपालीको प्रवेश–पास नवीकरण भएको छैन । 

सीमानाका सञ्चालन भएकै दिन १८ बैशाखमा १८ जना हुम्लाका नागरिक मजदूरीका लागि तिब्बततर्फ प्रवेश गरेका थिए । यारी नाकामा नेपालको भन्सार, प्रहरी कार्यालय र सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल छ।

नेपालबाट हिल्सा नाका भएर तिब्बतको कैलाश मानसरोवर जाने बाटो सबैभन्दा छोटो र सहज मानिए पनि सडक बिग्रेका भन्दै चीनले मानसरोवर जाने तीर्थयात्रीहरूमा पनि रोक लगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ