arrow

राप्तीसोनारीले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गर्ने

logo
सौरभ गिरी,
प्रकाशित २०८० जेठ २४ बुधबार
rapti-sonari-meeting-2080-02-24.jpg

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गर्ने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले आज राप्तीसोनारी गाउँपालिका २ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०–८१ देखि पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गरिदिने बताएका हुन् ।

सिकलसेल भएका बिरामीले जीवनभरी औषधि खानुपर्ने हुन्छ । निम्न आयस्रोत भएकालाई औषधि किन्न मुस्किल हुन्छ । बीमा गरिदियो भने त्यसले धेरै सहज हुन्छ । 

अर्को वर्षदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ, उनले भने ‘बीमा बापतको शुल्क पालिकाले तिर्छ ।’ राप्तीसोनारीका ४ वटा वडामा स्याम्पलिङ गर्दा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

पछिल्लोपटक वडा नम्बर ६ कमैयाडाँडामा ६३१ जनाको नमूना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर २ कचनापुरमा ४८७ जनाको नमूना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेका छन् । गत वर्ष वडा नम्बर ३ र ४ मा २ हजार १९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र २९१ जना बाहक फेला परेका थिए ।

थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरुलाई बस्तीस्तरमै पुर्याएर स्थानीयवासीलाई सचेत बनाउने काम गरिरहेको छ ।  

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वली सहितको टिमले रोगीहरुलाई परामर्शसमेत दिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ