arrow

संसदमा भैँसीका कुरा (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
prachanda-parliament-2080-02-22a.jpg

काठमाडौं ।  प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्री भारतबाट फर्किदा भैँसी चढेर आएको’ भन्ने कुराले प्रवेश पाएपछि बैठक केहीबेर अवरोध हुन पुगेको थियो ।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण र नागरिकता प्रमाणिकरणको सम्बन्धमा आफ्नो मन्तव्य राखेसँगै सांसदहरुलाई प्रश्न सोध्न दिइएको थियो । सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट भैँसी चढेर आएको भन्ने कुरा राखेका थिए ।
 
उनले भनेका थिए - ‘प्रधानमन्त्रीज्यूको भारत भ्रमणको क्रममा हामी चाहन्थ्यौँ उहाँ प्लेन चढेर भर्खर उहाँले नै उद्घाटन गरेको पोखरा विमानस्थलमा झर्नुहुन्छ होला भनेर । दुर्भाग्यवश भैँसी चढेर आउनु परेका कुराहरु आए ...’

लगत्तै सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसदहरुले नियमापत्ति जनाउँदै उठेका थिए । सभामुखले प्रमुख सचेतक हितराज पाण्डेलाई आफ्नो कुरा राख्न समय दिएसँगै उनले संसदमा अमर्यादित शब्द प्रयोग भएको उल्लेख गर्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गरे ।  उनले भने - ‘संसदमा मर्यादित शब्द प्रयोग हुनुपर्छ । भैँसी चढेर आएको भन्ने शब्द रेकर्डबाट मेटाइयोस् ।’

यता, हीतराज पाण्डे लगायतका माओवादी केन्द्रका सांसदहरु उठेसँगसँगै विपक्षी दल एमाले, रास्वपा लगायतका सांसदहरु पनि उठिसकेका थिए । उनीहरुको कुरा थियो सांसद खनाल बोल्दाबोल्दै सत्तारुढ दलका सांसदहरुले बोल्न नदिएर नियम मिचेको । सभामुखले एमाले सांसद सूर्यबहादुर थापालाई बोल्न समय दिनुभयो । थापाले सत्तारुढ दलका सांसदहरुले दादागिरी देखाएर प्रतिपक्षका सांसदलाई बोल्न नदिएको र प्रतिनिधि सभा नियमावलीको नियम मिचेको बताए । 

उनले भने - ‘यहाँ माननीय सदस्यले बोलिरहेको बेला सत्ता पक्षका माननीय सदस्यहरुले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइदैनँ । यो नियमावलीको पालना गरियोस् । यसको निम्ति जोड गर्न चाहन्छु । यो दादागिरी स्वीकार्य हुन्न । यो कुनै हालतमा स्वीकार्य हुन्न ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ