arrow

सुनौलो सहकारी: सहमति नजुटे मुद्धा चलाएर अनुसन्धान गर्न प्रहरीलाई पत्र

logo
नारायण वली,
प्रकाशित २०८० जेठ १८ बिहिबार
sahakari-darta-adhikariko-karyalaya-lumbini.jpg

रुपन्देही । बचतकर्ताले एक हजार नौ सयसमेत न्यूनतम रकम सहकारीबाट नपाएपछि बाहिरिएको सहकारीको अवस्था तनावपूर्ण बन्यो कि दुई हजार रुपैयाँसमेत दिन नसक्नु बचतकर्ताहरुको रकम कतै हिनामिना भयो कि भनेर गत मंगलबार धेरै बचतकर्ताहरु सहकारीमा आएपछि उत्पन्न विवाद चर्कियो । पीडित बनेका बचतकर्ताहरुले आफूहरुको बचत रकम पाउनुपर्ने माग राखे भने सहकारीले कुनै जवाफ दिएन । झन स्थिति नाजुक बन्नेतर्फ पुग्यो । 

छलफल र सुरक्षाका लागि भन्दै सहकारीको म्यानेजर भनिने सिन्धुपाल्चोक लिसङ्खुपाखर- ७ घर उल्लेख भएकी सिर्जना तामाङ र आर्यन क्षेत्रीलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लियो र बुधबार पीडित पक्षहरु वडा प्रहरी कार्यालयमा न्यायका लागि पुगे ।

तर त्यहाँ तामाङ र क्षेत्रीले सहकारीको सञ्चालकलगायत बारेका कुनै जानकारी दिन नमानेपछि थप पीडितहरु आशंकित भए । ती दुबै पक्षलाई इलाका प्रहरी कार्यालय बुटवल पठाइयो । इलाकामा पनि लामो छलफल भयो । त्यहाँबाट पनि ठोस निर्णय हुन सकेन । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख दानबहादुर थापाले सहकारीको विषयलाई प्रहरीले सिधै हेर्न नमिल्ने र यद्यपि सहकारी दर्ता अधिकारीको कार्यालयबाट आवश्यक पत्र आएमा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन मिल्ने भन्दै नियन्त्रणमा लिएकालाई उजुरी बिना थुनामा राख्न नमिल्ने बताएपछि प्रहरी नियन्त्रणमा रहेका तामाङ र आर्यन छुट्ने र बचतकर्ताहरुको रकम के हुन्छ भन्ने बारे गम्भीर विषय बन्यो । अन्तत: प्रहरीले ती दुई जनालाई थप छानबिन तथा कारबाहीका लागि भन्दै सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरी दाङमा पठायो । 

"न्यायको हारगुहार गर्दै प्रहरी कार्यालयको ढोकासम्म पुगेका पीडितहरु निराश भएर फर्किए । उनीहरुमा एउटै गुनासो थियो कि जनताको रकम हिनामिना गरेको सहकारी र त्यसमा संलग्नलाई किन प्रहरीले अनुसन्धान गर्न ध्यान दिएन ?" 

सहकारीको कार्यालयभित्र सञ्चालक समितिहरुको नाम र दर्ता प्रमाणपत्रहरु कुनै नदेखिएकाले कागजपत्रका सम्बन्धमा आफूलाई व्यवस्थापक बताउने तामाङले नबताउने आफ्नो ढिपी छोडिनन् ।  


बरु आफूलाई समय दिएमा बचतकर्ताहरुको रकम भुक्तानी गरिदिने मौखिक बचन व्यक्त गरिन् । यता बचतकर्ताहरुले भने उनको वचनलाई कुनै आधारमा विश्वास गर्न नसकिने जनाए । 

सहकारी दर्ता अधिकारी लुम्बिनी प्रदेश कार्यालय दाङ लगिएका दुई जनालाई ५ दिनभित्र बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्ने अन्यथा नगरे कानूनी प्रक्रिया अगाडि बढाइने व्यहोरा सहितको पत्रमा हस्ताक्ष लगायत कागजात तयार गरिएको र प्रहरी नियन्त्रणमा रहेकाले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा छलफल विशेष मान्छेहरुसँग बसेर टुङ्ग्याउँछौ भनेपछि सहमति नभएमा मुद्धा चलाएर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्र दिएको सहकारी दर्ता अधिकारी कार्यालय लुम्बिनीका प्रमुख भीमप्रसाद तिवारीले बताए । 

उनले भने, 'दर्ता गर्दा सञ्चालक समितिहरुकोसमेत सम्पर्क नम्बर राखिएको रहेनछ । जसले गर्दा यो सहकारी दर्ता प्रक्रिया नै नियोजित देखिन्छ । नियत नै खराब रहेको स्पष्ट हुन्छ । यसमा हामीले विशेष ध्यान दिइसकेका छौं । आज नै प्रदेश मुख्यमन्त्री र सहकारी मन्त्रीलाई ध्यानाकर्षण गराएर सहकारीको बेथितिलाई कडा रुपमा कारबाहीको दायरा बढाउने गरी अगाडि बढ्नुपर्ने छ ।'  

यस्तो छ सहकारीको दर्ता र सञ्चालक समितिको नामावली:
२०७८ भदौ ५ गते सहकारी रजिष्ट्रारको कार्यालय दाङमा दर्ता भएको  देखिएको छ । सहकारी दर्ता गर्दा स्याङ्जा कृष्णगण्डकी-६ का विष्णुप्रसाद भट्टराईको अध्यक्ष नाममा दर्ता भएको फेला परेको छ । उपाध्यक्षमा साविक बराङ्दी-६ पाल्पाकी सावित्रा बस्याल, सचिवमा विन्जोर-८ सिन्धुलीका राजन कार्की, सहसचिवमा दाङवाङ-६ प्यूठानका प्रेम प्रसाद आचार्य, कोषाध्यक्षमा तानसेन नगरपालिका-१ पाल्पाका विश्वबहादुर खबी क्षेत्री सदस्यहरुमा हर्मिचौर गुल्मीकी कमला न्यौपाने र पैंयु-५ पर्वतकी विष्णुकुमारी श्रेष्ठसहित २० जना सञ्चालक भएको खुलेको छ।  यता बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुनाकर खनालले सो सहकारी नगरमा दर्ता नभएको पुष्टि गर्दै प्रदेशमा मात्रै दर्ता भएर चलेको बताए ।

यसैगरी कागजातमा केन्द्रीय कार्यालय बुटवल देखिएको भए पनि तर ठेगाना नखुलाइएको पाइएको छ । नियमन निकायले कुनै ध्यान नदिएकाले पछिल्लो समय सहकारीमा देखिएको बढ्दो बेथिति एकपछि अर्को गरि मौलाउँदै जानुले सयौं नागरिकहरुको पैसा ठगी हुने क्रम बढ्दै गएको छ भने सहकारीप्रतिको विश्वास गुम्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ