arrow

कांग्रेस नेतृ पाण्डेको निधनमा पार्टीले तीन दिन झण्डा आधा झुकाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
congress-nc-party-office-hq.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं पूर्व महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री मीना पाण्डेको आज अपराह्न काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको छ ।

विसं २००८ मा जन्मिएकी पाण्डेले विसं २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् । तीन पटकसम्म कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी स्व पाण्डे विसं २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य थिइन् । २०६४ मा संविधानसभा सदस्य रहेकी थिइन् । 

उनी कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको दुई पटक सभापति भएकी थिइन् । नेपालमा प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका क्रममा उनले पटक–पटक जेल जीवनसमेत व्यतित गरेकी थिइन् । उनको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ ।

स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यालयले स्व पाण्डेप्रति सम्मान प्रकट गर्दै यही जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ । 

यसैगरी जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभाको आयोजना गर्ने जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । 

साथै सभापति देउवाले नेतृ पाण्डेको निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन तथा महिला हकअधिकारका लागि उनले पुयाएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताए । 

 पाण्डेको निधनबाट कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ