arrow

कांग्रेसभित्र युवाको निराशा सत्तालिप्सा – गगन थापा [भिडियोसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
gagan-thapa-2080-02-15.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सत्ता र सरकारमा लिप्त हुन थालेको आरोप लगाएका छन् । उनले आजका युवाहरुमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । 

सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता गल्तीलाई गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने बताए । उनले पार्टीमा अब पनि यस्ता गल्तीहरु स्वीकारेर अघि नबढ्ने बताए । 

उनले भने, ‘त्यो कांग्रेस जसले मर्ला सत्ता चाहिँदैन, मलाई सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष गर्यो । त्यो कांग्रेस जुन ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा म जान्न भन्यो, चुनावमा अस्ति भर्खर २०६० सालमा होइन ? मेयर, उपमेयर, वडा अध्यक्ष बन्दैन थियौँ, हामी यो चुनावमा भाग लिँदैनौँ किनकि यो चुनाव चुनाव होइन भन्यो । त्यो कांग्रेसको इमेज अहिले के भयो ? कांग्रेसका लागि सरकार सबै कुरा हो । कांग्रेसका लागि सत्ता सबैकुरा हो । सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मुल कारण यही हो । गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ । अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ, नेपाली कांग्रेस पार्टीले त्यहीँबाट शुरु गर्छ, पार्टीले गरेको गल्ती स्वीकार्दै आम जनतासँग माफी माग्दै आम पार्टीका सदस्यसँग माफी माग्दै यो कांग्रेस पार्टीले घोषणा गर्छ, यो कांग्रेसले अब जीवनमा चुनाव हारे हारिन्छ, दुई, तीन पटक हारे हारिन्छ, तर चुनावअघि जीवनमा कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।’ 

महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिवद्धता जनाए । 


सो क्रममा उनले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताए । 

उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । उनले नेपालको कानूनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरेभन्दा बाहिर कोही पनि जान नमिल्ने बताए । 

उनले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । 

उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । 

उनले भने, ‘मेरो परिवारको सदस्यलाई कानूनले समात्दा मलाई के लाग्छ, यो कानूनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ । तर कानूनको शासनले के भन्छ, कानूनको शासनले तपाईको इच्छा के छ ? तपाईको चाहना के छ ? तपाईको आवश्यक्ता के छ ? त्यसका आधारमा निर्णयहरु हुँदैनन् । त्यसको एउटा प्रक्रिया हुन्छ । नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ । त्यो कानूनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानून मात्रै चल्छ । कानूनको शासन मात्रै हुन्छ । आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानूनलाई पनि मिचेर, थिचेर बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौं । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ ग¥यौँ । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ