arrow

सगरमाथामा पुगेर कीर्तिमानसहित फर्किएका बुढामगरको भव्य स्वागत [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ९ मंगलबार
hari-budhamagar-mountaineers-disabled.jpg

काठमाडौं । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी काठमाडौं फर्केका छन् । 

उनको मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । बिहान १०ः३० बजे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनको स्वागत गर्न संस्कृति तथा पर्यटनमन्त्री सुदन किराती पनि पुगेका थिए ।

साथै उनलाई मगर समुदायले झाँकीसहित स्वागत गरेको थियो । 

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री किराँतीले बुढामगरलाई सम्बोधन गर्ने कुनै शब्द नै नरहेको बताए । उनले गरेको कामको साथमा सरकार सदैव रहेको उल्लेख गर्दै बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिएको बताए । 

उनले भन्नुभयो, ‘नतमस्तक छु, भावुक छु, म मात्रै नभइ सारा नेपालीहरु नै गौरवान्वित हुनुहुन्छ । उहाँलाई सम्बोधन गर्ने कुनै शब्द नै छैन । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हरि बुढामगर मात्रै होइन, नेपाल र नेपाली जनताको तर्फबाट विश्वलाई नै नयाँ सन्देश दिएर आउनुभएको छ । उहाँको चाहना र मेहनतले सगरमाथा चढ्नुभएको छ । सरकार तपाईको साथमा छ ।’

आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै  सगरमाथा आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गरे । उनले भने, ‘यो मैले एक्ले गरेर भएको होइन, यसमा मेरो टिम छ । यसमा उहाँहरुले आफ्नो ज्यानको बाजी राखेर चढाउनुभएको छ । नेपाल सरकारदेखि सम्पूर्ण संसारको कुनामा भएकाहरुले साथ दिनुभएको छ । शारीरिक अशक्तहरुलाई दया, माया भन्दा पनि अवसर दिनुहोला ।’ 

उनले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । योसँगै हरिले विश्व कीर्तिमानसमेत बताएका छन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भएका हुन् । 

उनको यो सफलता सिङ्गो अपाङ्गता भएको क्षेत्रका लागि ठूलो उत्साह हो । त्यतिमात्र होइन उनको सगरमाथा आरोहणले सपाङ्गहरुलाई पनि केही गर्नुपर्ने थप प्रेरणा दिने विश्वास गरिएको छ । 

बुढामगरको सफल सगरमाथा आरोहणबाट पत्रकार माधव चम्लागाईले खुशी व्यक्त गरेका छन् । 

अपाङ्गता भएकाहरुलाई सगरमाथा आराहणमा लागेको रोकमा उनले मुद्धा नै लडेका थिए । कानूनको असमान व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडेर अपाङ्गता भएकाहरुका लागि सगरमाथा चढ्न बाटो उनैले खुलाएका थिए । 

चम्लागाईले फेसबुकमा लेखेका छन्, ‘सहृदयी मित्र हरि बुढामगरले सगरमाथामा आरोहणमा पाएको  सफलताले विश्वभर रहेका अपांगता भएका व्यक्तिहरुलाई थप हौसला र उर्जा मिलेको छ ।  

झन्डै ५ वर्षको निरन्तरको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी गत चैत २१ गते काठमाडौंबाट सगरमाथाको बेस क्याम्पतर्फ लागेका थिए । 

को हुन् हरि ?
रोल्पाको थवाङ गाउँपालिकाको मिरुल घर भएका हरिको सानै उमेरदेखि सगरमाथा आरोहण गर्ने सपना थियो । त्यो सपना रोकिएको मात्र थियो । तर गएको शुक्रबार उनको लागि जीवनकै ‘गुड फ्राइडे’ भइदियो । 

उनको इच्छाशक्तिका अगाडि उनको शारीरिक अशक्तताले जितेन । उनले सबै तगारा पार गरे । 

उनले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडा भन्दा माथिबाट गुमाएका थिए । 

सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए, ‘हामी सफल भयौं ।’

उनले गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए । 

हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा छन् । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिसको माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका थिए ।

सगरमाथाको सफल आरोहण गर्नुपूर्व उनले मोन्ट ब्लाङ्क ४,८१० मिटर, चुलु सुदूरपूर्व ६,०५९ मिटर, किलिमन्जारो ५,८९५ मिटर, र मेरा पिक ६,४७६ मिटर लगायतका आरोहण गरिसकेका थिए । 

_MG_0281.jpg
_MG_0240.jpg
_MG_0336.jpg
_MG_0110.jpg
_MG_0056.jpg
_MG_0120.jpg
_MG_0054.jpg
_MG_9971.jpg
_MG_0142.jpg
_MG_0150.jpg
_MG_0051.jpg
_MG_0033.jpg
_MG_9958.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ