arrow

चीनले नेपाललाई तिब्बत बनाउन खोज्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २ मंगलबार
yekata-campaign-bara.jpg

बारा। चीनले नेपाल तिब्बत बनाउन खोजेका राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादवले आरोप लगाएका छन्। बाराको कलैयामा शनिवार आयोजित नेपाल प्रति चिनियाँ अभ्यास र असर विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै संयोजक यादवले चीनले अघोषित रूपमा नेपालमा सादा पोसाकमा चिनिया सेना परिचालन गरेर नेपाललाई तिब्बतको अवस्थामा पुर्‍याउन षडयन्त्र सुरु गरिसकेको दाबी समेत गरे।

‘अहिले चीनले नेपालमा धार्मिक, शैक्षिक, भाषिक आक्रमण समेत सुरु गरिसकेको छ,’ उनले भने, ‘विगतमा भारतीय विस्तारवादको नारा लगाएर नेपालीलाई उक्साउने चीनले अहिले सांस्कृतिक आक्रमण गरिरहेको छ।’ चीनले नेपालको केही भूभाग कब्जा गरिसकेको र अहिले देशलाई नै आफ्नो गुलाम बनाउने दिशामा सक्रियता बढाएको उनको भनाई छ। चीनले पोखरा विमान स्थल निर्माणमा ऋणको बोझ बोकाएर विमानस्थल नै कब्जा गर्ने दाउ राखेको उनको जिकिर थियो। तीन किलोमिटर रनवे भएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल ७ अरबमा निर्माण कार्य सम्पन्न भयो। तर अढाई किलोमिटर रनवे भएको पोखरा विमानस्थल निर्माण गर्न ३२ अर्ब रुपैयाँ खर्च भएको भन्दै उनले आश्चर्य व्यक्त गरे।

त्यति मात्र होइन। विश्वमा कहीँ विमानस्थलको रनवे ढलान गरेर बनाइएको छैन। तर पोखरा विमानस्थलको रनवे ढलान गरेर बनाइएको छ । यसले अवतरण हुने विमानको लागी समेत अनुकूल नरहेको उनको जिकिर थियो।

अचालकली चिनिया ऋणको बोझ बोकाइएको पोखरा विमान स्थलले तोकिएको समयावधिमा ऋण तिर्न नसक्ने र पछि विमानस्थल नै ऋणबापतमा चीनले विमानस्थल नै कब्जा गर्ने षडयन्त्र सुरु गरेको उनको भनाई छ।

देशका प्रमुख राजनीतिक दलका नेतालाई आर्थिक प्रलोभन दिएर आफ्नो प्रभावमा पारेको संयोजक यादवको आरोप छ। नेपाल भरी नै चीनले बुच्चरको रूपमा चिनिया अनुसन्धानकर्तालाई खटाएको र यहाँको हरेक गतिविधिको सूचना सूक्ष्म तरिकाले सङ्कलन गरिरहेको उनको दाबी छ। युरोपियन युनियन र चीनले आफ्ना दलाल मार्फत नेपालको मौलिकता, भाषा, संस्कृति, शिक्षा माथि निरन्तर प्रहार थालेको र पछिल्लो समय सफलता प्राप्त गर्दै गइरहेको जनाउँदै आउने दिनमा नेपालको हालत पनि श्रीलङ्का, पाकिस्तान जस्तै हुने हो कि भन्दै उनले चिन्ता समेत व्यक्त गरे।

नेपाल अहिले चीनको अस्वाभाविक ऋणको बोझबाट थिचिँदै गएको उनको भनाई थियो । आतङ्कवादको जरो अमेरिकामा फैलाउन चीनले नै भुटानी शरणार्थीको नाममा चिनिया एजेन्टलाई नेपाली अधिकारीहरूको सहयोगमा भुटानी शरणार्थी बनाएर अमेरिका उडाएको खुलासा उनले गरे।

गृह मन्त्रालयको संलग्नतामा भएको यो फर्जी कामले विश्वमै नेपालको छवि खराब भएको र यसले नेपाललाई नै आतङ्कवादीको सूचीमा पार्ने षडयन्त्र भएको उनको भनाई थियो।

पंचायतकाल देखी षडयन्त्र थालेको चीनले अहिले नेपाल कम्युनिस्ट पार्टीहरूको सहयोगमा नेपाल माथि हाबी भएको उनको भनाई छ। चीनकै हस्तक्षेपको कारण नेपालको राष्ट्रिय एकता खलबलिएको र कमजोर बनेको उनको भनाई छ। राजा महेन्द्रकै पालामा ३० किलोमिटर उत्तर तर्फको टिउनी नदी सिमाना सम्मको भूभाग कब्जा गरेर चाहिनामा मिसाएको उनले इतिहास कोट्याउँदै बताए।

त्यति मात्र होइन। चीनले नेपालको हिमालयको उत्तर तर्फको भूभाग समेत कब्जा गरिसकेको उनले जानकारी दिए। हालसालै गोरखा जिल्लाको नेपाली गाउँ रुई गाउँलाई पनि चीनले कब्जा गरी नेपाली सेना परिचालन गरेको उनले खुलासा गरे । प्रदीप ज्ञवाली प्रराष्ट्रमन्त्री भएकै बेला चिनिया सेनाले कब्जा गरेको उनको भनाई छ।

उक्त अवसरमा संविधान सभा सदस्य बिपी यादवले ९० प्रतिशत हिन्दु रहेको नेपाललाई धर्म निरपेक्ष बनाउन चीन र युरोपियन युनियनले नै षडयन्त्र गरेको बताए।

चीनले विस्तारवाद नीतिलाई सफल बनाउन सनातन धर्मलाई निशाना बनाएर आफ्नो क्रियाकलाप अगाडी बढाएको आरोप समेत उनले लगाए।

राष्ट्रिय एकता अभियानका जिल्ला संयोजक गोपाल दासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अधिवक्ता अजय सर्राफ, मिनेन्द्रलाल कर्ण, किशोरी राम, अमित यादव, रामबाबु साह लगायतकाले निरन्तर रूपमा भइरहेको चिनिया प्रहारको विरोध गरेका थिए।

राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहकले सञ्चालन गरेको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सनातन धर्मावलम्बी, सञ्चार कर्मी लगायतको उपस्थिति थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ