arrow

नेप्सेमा सङ्कट : राष्ट्रिय आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित, लगानीकर्ताहरू थप निराश 

आर्थिक वृद्धिदरको प्रक्षेपण गर्न चुनौती

logo
निश्चलराज दवाडी,
प्रकाशित २०८० वैशाख २९ शुक्रबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौं। सार्वजनिक रूपमा सूचीकृत गरिएका कम्पनीहरूको स्टक वा शेयरहरू कारोबार (किन-बेच) गर्न सकिने नेपाली सेयर बजारको ओरालोको यात्रा यस साता पनि कायम रह्यो ।

नेप्सेमा सूचीकृत भएका कम्पनीका लगानीकर्ताहरूले कम्पनीको भविष्यको कार्यसम्पादनको अपेक्षाको आधारमा शेयरहरू किन्न र बेच्न तथा कम्पनीका हकमा लगानीकर्ताहरूलाई आफ्नो शेयर बेचेर पुँजी बढाउने अवसर प्रदान गर्ने नेपाली शेयर बजार, हालको अवस्था निकै खराब हुँदै आएको छ । आपूर्ति र मागको आधारमा निर्धारण हुने शेयर वा शेयरको मूल्यमा उच्च गिरावट आएसँगै नेप्सेका लगानीकर्तामा थप निराशा उत्पन्न हुन थालेको छ । 

१८६९.७३ अङ्क बाट आफ्नो सुरुवाती कारोबार थालेको नेप्से बिहीबार ३० अङ्कको गिरावट सँगै १८३८.५९ अङ्कमा सीमित हुन पुग्यो । यस हप्ता सेन्सेटिभ इन्डेक्समा ४ अङ्कको गिरावटसँगै सेन्सेटिभ इन्डेक्स ३५३.०९ अङ्कमा, फ्लोट इन्डेक्समा २ अङ्कको गिरावट सँगै फ्लोट इन्डेक्स १२८.६५ अङ्कमा तथा सेन्सेटिभ फ्लोट इन्डेक्समा २ अङ्कको गिरावट आए सँगै सेन्सेटिभ फ्लोट इन्डेक्स ११७.४२ अङ्कमा सीमित भएका छन् ।

यसैगरी अन्य उप-परिसूचकमा पनि गिरावट आएको छ । १२२८.०२ बाट आफ्नो कारोबारको सुरुवात गरेको बैङ्किङ उप-परिसूचक ५ अङ्कको गिरावट आए सँगै बैङ्किङ उप-परिसूचक १२१४.१७ मा सीमित भएको छ । ३५३५.०८ अङ्क बाट आफ्नो कारोबार सुरुवात गरेको होटेल तथा पर्यटन उप परिसूचकमा ५ अङ्क को गिरावट आए सँगै यो ३४३०.८३ अङ्कमा, १३६८.६३ अङ्क बाट आफ्नो सुरुवाती कारोबार गरेको अन्य परिसूचक २० अङ्कको गिरावट सँगै १३४८.१३ अङ्कमा, २३६४.१७ अङ्क बाट आफ्नो सुरुवाती कारोबार थालेको हाइड्रोपावर परिसूचक ७५ अङ्कको गिरावट सँगै  २२८९.५६ अङ्कमा, ३४३६.९८ अङ्क बाट आफ्नो सुरुवाती कारोबार थालेको विकास बैङ्क परिसूचक ४५ अङ्क को गिरावट सँगै ३३९१.८७ अङ्कमा, ४३४७.९५ बाट आफ्नो सुरुवाती कारोबार थालेको उत्पादन तथा प्रशोधन परिसूचकमा ४८ अङ्क को वृद्धि सँगै ४३९५.९० अङ्क मा, ८६३८.७१ अङ्क बाट आफ्नो सुरुवाती कारोबार गरेको नन-लाइफ इन्सुरेन्स परिसूचक १४ अङ्कको वृद्धि सँगै ८४५२.६७ अङ्कमा, १५६८.०९ अङ्क बाट सुरुवाती कारोबार थालेको फाइनान्स परिसूचक ३७ अङ्कको गिरावट सँगै १५३१.०२ अङ्कमा, २०४९.२० अङ्क बाट आफ्नो कारोबारको सुरुवात गरेको व्यापार परिसूचक ३७ अङ्कको गिरावट सँगै २०१२.४८ अङ्कमा, ३३१०.४० अङ्क बाट आफ्नो सुरुवाती कारोबार सुचारु गरेको लघुवित्त परिसूचक ७५ अङ्क को उच्च गिरावटको साथ ३२३५.७१ अङ्क मा, ९३३२.५२ अङ्क बाट आफ्नो सुरुवाती कारोबार सुचारु गरेको लाइफ इन्सुरेन्स उप परिसूचक ९६ अङ्क को उच्च गिरावटका साथ ९२३८.५२ अङ्क मा, १३.५२ अङ्क बाट आफ्नो कारोबारको सुरुवात गरेको म्युचल फण्ड ०.०१ अङ्क को वृद्धि सँगै १३.५३ अङ्क मा, ६२.६३ अङ्क बाट आफ्नो कारोबार सुरु गरेको लगानी परिसूचक १ अङ्क को गिरावट सँगै ६१.८८ अङ्कमा सीमित भएको छ ।                      

हालको अस्थिर अवस्थामा कम्पनीको न्यून वित्तीय प्रदर्शन, निराशाजनक उद्योग प्रवृत्ति, जीर्ण आर्थिक अवस्था, र उतारचढाव पूर्ण भूराजनीतिक घटनाहरू जस्ता विभिन्न कारणहरूले नेप्सेमा सूचीकृत कम्पनीको स्टक, स्टक मूल्य तथा यसको मागलाई असर पारेको स्पष्ट बुझ्न सकिन्छ । ८% को आर्थिक वृद्धि दर प्रक्षेपण गरेता पनि नेपालको  आर्थिक वृद्धि दर केवल २ % मा सीमित रहेको कारण पनि  यस्तो खस्किँदो परिस्थिति सृजना हुनु जायज नै रहेको अर्थविद्हरुको ठम्याई रहेको छ । 

८% को आर्थिक वृद्धि दर पच्छ्याउन नसक्नु पछाडिका सम्भावित कारणहरू:

अत्यधिक आशावादी प्रक्षेपण: नेपाल सरकारले आर्थिक वृद्धिको सम्भावनालाई बढि आकलन गरेको देख्न सकिन्छ। कोरोना कालको सङ्कट केही हदसम्म टरे पनि नेपालको आर्थिक स्तर, कुल गार्हस्थ्य उत्पादन तथा अन्य राष्ट्रिय आर्थिक सूचकाङ्कको समग्र प्रदर्शन ट्र्याक निकै कमजोर रहेको देखिन्छ । 

औद्योगिक उत्पादन, खुद्रा बिक्री, रोजगारी, र मुद्रास्फीति जस्ता विभिन्न क्षेत्रहरूबाट डेटा जम्मा गरेर अर्थव्यवस्थाको स्वास्थ्य र कार्यसम्पादन दर्साउने यस्ता राष्ट्रिय आर्थिक सूचकाङ्कहरू जस्तै सामान्यतया एक चौथाइ वा एक वर्षमा देशको सिमाना भित्र उत्पादन हुने वस्तु र सेवाहरूको कुल मूल्य मापन गर्ने कूल गार्हस्थ्य उत्पादन (GDP), मुद्रास्फीति ट्र्याक गर्न र जीवनको लागत मापन गर्न समयसँगै घरपरिवारले उपभोग गर्ने वस्तु र सेवाहरूको टोकरीको मूल्यमा भएको औसत परिवर्तन मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (CPI), उत्पादन, खानी र उपयोगिता क्षेत्रहरूको उत्पादन मापन गर्दै औद्योगिक क्षेत्रको प्रदर्शन ट्र्याक गर्ने र अर्थव्यवस्थाको उत्पादन क्षमता मापन गर्ने औद्योगिक उत्पादन सूचकाङ्क (IPI), श्रम बजारका अवस्थाहरू, बेरोजगार र सक्रिय रूपमा रोजगारी खोज्ने श्रम शक्ति ट्र्याक गर्दै अर्थव्यवस्थाको स्वास्थ्य मापन गर्ने बेरोजगारी दर जस्ता राष्ट्रिय आर्थिक सूचकाङ्कहरूले नीति निर्माताहरूले प्रक्षेपण गरेको आर्थिक वृद्धि दर अत्यधिक आशावादी रहेको अङ्कित गराई सकेको थियो ।

बाह्य कारकहरू: नेपाल जति सुकै विश्वव्यापीकरण मुलमन्त्र साधेर अघि बढे पनि नेपालसँग बाह्य कारकहरू जस्तै विश्वव्यापी आर्थिक अवस्था, भू-राजनीतिक तनाव, युद्ध -प्राकृतिक प्रकोप, वा महामारीहरूको प्रभाव प्रक्षेपण गर्ने र यस्ता प्रभाव निर्मूल पार्न या केही हदसम्म रोकथाम गर्न आवश्यक पर्ने आकस्मिकता  प्रतिरोधात्मक रणनीतिको हर हमेसा अभाव रहेको देख्न सकिन्छ । 

यसका कारण सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुने स्थितिको सृजना हुने हुँदा नेपालले तय गरेको आर्थिक वृद्धि हासिल गर्न यसले प्रमुख तहमा असर पार्दै आएको बुझ्न या देख्न सकिन्छ ।

आन्तरिक कारकहरू: नेपालमा अस्थिर राजनीतिको प्रकोप छताछुल्ल भएको देख्न सकिन्छ । यस्तो अस्थिर राजनीतिका कारण  देशको नीतिगत निर्णयहरू धराशायी हुँदै आएको र यसै कारण असुरक्षित लगानीको वातावरण पैदा हुँदै आएको तथा यसको असर उपभोक्ताहरूको भावनामा पनि पर्दै आएको बुझ्न सकिन्छ । 

यसै कारण यस्ता आन्तरिक कारकहरूले आर्थिक वृद्धिलाई असर पार्दै आएको छ भने हालैको समयमा सरकारले लगानी निरुत्साहित गर्ने नीति तथा उच्च कर-सीमा अपनाएसँगै यसको असर आर्थिक वृद्धिमा परेको बुझ्न सकिन्छ ।

संरचनात्मक मुद्दाहरू: देशमा आवश्यक पूर्वाधारको अभाव, उत्पादन र व्यापार विस्तारका चुनौती जस्ता विभिन्न संरचनात्मक समस्याहरू रहेको यस अर्थव्यवस्थामा कर, दातृ निकायको सहयोग, रेमिटेन्स या ऋण सहयोगमा मात्र सीमित रहेर प्रक्षेपण  गरेर यस्तो उच्च आर्थिक वृद्धि दर हासिल गर्न चुनौतीपूर्ण अभ्यास हो । परापूर्वकालदेखि चली आएको यस प्रक्षेपण संस्कृति न त गुणात्मक छ न त मात्रात्मक नै ।

विश्वको आर्थिक अवस्थामा द्रुत रूपमा परिवर्तन आएसँगै हाल विश्वभरि खाद्यान्न सङ्कट, भोकमरी, उच्च मुद्रास्फीति जस्ता सङ्कट फैलिरहेको छ ।  यसै कारण नेपाल र नेपाली अछुतो रहन सकेका छैनन् बहने आयातित राष्ट्रको नाममा ख्यातिप्राप्त गरेको नेपालमा यस्तो सङ्कट अझ प्रगाढ रूपमा फैलन सक्ने अवस्था सिर्जना हुन समय लाग्दैन ।  

नित्य उपभोग देखि अन्य उपभोगका लागि आयातमै निर्भर रहेको नेपाल पेचिलो विश्वव्यापी भू-राजनीति तथा पेचिलो विश्वव्यापी अर्थनीतिको कारण आफ्नो आवश्यकताका आधार स्तम्भ तर्फ जुझारु हुन नसके यस्तो स्थितिको सिर्जना हुन अब केही वर्ष मात्र प्रतीक्षा गर्नु पर्ने अर्थविद्हरुको बुझाइ छ । वार्ता कौशल, अवसरको खोजी तथा कूटनीतिक पहल जस्ता विभिन्न अङ्गमा कमजोर रहेको नेपाली कूटनीतिज्ञहरू, तथा मौलाउँदै गएको भ्रष्टाचारहरूले छताछुल्ल भएको समाजमा यसको प्रभाव थप अधिक हुने र यसको असर स्वतः आर्थिक वृद्धिमा पर्ने बुझाइसँगै यसले मुलुकलाई थप सङ्कट तर्फ धकेल्ने कुरा सर्वज्ञ छ । 

सारांशमा, आर्थिक वृद्धिदरको प्रक्षेपण गर्न चुनौतीपूर्ण रहने तथा अनुमानित दरको तुलनामा वास्तविक वृद्धिदरमा उच्च गिरावट आउन सक्ने तथ्यलाई अस्वीकार गर्न नसके पनि यस्तो तुलनात्मक भिन्नता केही प्रतिसतको मात्र हुनु पर्ने थियो । 

तसर्थ, अनुमानहरू बनाउँदा बहु कारकहरूका आधारमा  अर्थनीति, आर्थिक स्थिति, राष्ट्रिय आर्थिक सूचकाङ्क र परिदृश्यहरूका विचाराधीन आवश्यकताका परिवर्तन परिस्थितिहरू प्रक्षेपण गर्दै राष्ट्र अनुकूल वृद्धि दर प्रक्षेपण गरे र गुणात्मक तथा मात्रात्मक हिसाबले सोही वृद्धि दर हासिल गर्न तर्फ लम्के राष्ट्रले ढिला भए पनि प्रगतिको बाटो तर्फ एक कदम अग्रसर हुन्थ्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ