काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले शानदार जित हासिल गरेको छ । राजस्थानले कोलकाता नाइट राइडर्सलाई निरीह बनाउँदै शानदार जित हासिल गरेको हो ।
बिहीबार रातिको इडन गार्डेनमा भएको खेलमा राजस्थान ९ विकेटले विजयी भयो । पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेटको क्षतिमा १४९ रन बनायो ।
वेंकटेश ऐयरले ४२ बलमा ५७ तथा कप्तान नितिश रानाले १७ बलमा २२ रन बनाए । युजेभन्द्र चहलले २५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै ट्रृेन्ट बोल्टले २ विकेट लिए ।
जवाफमा राजस्थानले १३.१ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । जारी सिजनको यो सबैभन्दा छिटो जित हासिल गरेको खेल हो । ओपनर यशस्वी जैसवालले कीर्तिमान बनाएका छन् ।
उनले आईपीएलको इतिहासमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् । उनले मात्र १३ बलमा अर्धशतक पूरा गरे । यसअघि यो कीर्तिमान लोकेश राहुल र प्याट कमिन्सको नाममा रहेको थियो ।
सन् २०१८ मा दुवैले १४ बलमा अर्धशतक पूरा गरेका थिए । २०१८ सम्म १५ बलमा युसुफ पठान र सुनिल नाराइनले अर्धशतक बनाएका थिए ।
जैसवालले ४७ बलमा अविजित रहँदै ९८ रन बनाए । उनले पहिलो ओभरमै २६ रन बनाएका थिए ।
त्यस्तै कप्तान सन्जु सामसनले २९ बलमा अविजित रहँदै ४८ रन बनाए । जोस बटलर भने खाता नखोली आउट भए ।
यो जितसँगै राजस्थान प्लेअफका लागि बलियो दावेदार बनेको छ ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । १२ खेलबाट चेन्नई सुपर किंग्सको १५ अंक छ ।
१२ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा रहेको छ । ११ खेलबाट १२ अंकसहित मुम्बई इन्डियन्स चौथो स्थानमा छ । लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । रोयल च्यालेन्जर्स बेंगलोर, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।