काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा गुजरात टाइटान्स प्लेअफ नजिक पुगेको छ । अबको एक खेल जित्नासाथ साविक विजेता प्लेअफमा पुग्ने पहिलो टिम बन्नेछ ।
आइतबार भएको खेलमा लखनउ सुपर जाइन्टसलाई ५६ रनले हराउँदै गुजरात प्लेअफ नजिक पुगेको हो ।
पहिले ब्याटिङ गरेको गुजरातले २ विकेटको क्षतिमा २२७ रन बनायो । पहिलो विकेटका लागि १४२ रनको साझेदारी भएको खेलमा प्लेयर अफ द म्याच शुबमन गिलले ५१ बलमा अविजित रहँदै ९४ तथा ऋद्धिमान साहले ४३ बलमा ८१ रन बनाए ।
कप्तान हार्दिक पाण्डेयाले १५ बलमा २५ तथा डेभिड मिलरले १२ बलमा अविजित रहँदै २१ रन बनाए ।
जवाफमा लखनउले ७ विकेटको क्षतिमा १७१ रन बनायो । क्विन्टन डि ककले ४१ बलमा ७० तथा कायल मायेर्सले ३२ बलमा ४८ रन बनाए ।
मोहित शर्माले २९ रन खर्चेर ४ विकेट लिए । राशिद खान र नुर अहमदले १–१ विकेट लिए ।
अंक तालिका
११ खेलबाट १६ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । ११ खेलबाट चेन्नई सुपर किंग्सको १३ अंक छ ।
लखनउ सुपर जाइन्टसको ११ खेलबाट ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सको ८ अंक छ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।