काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा एक हजार ४६३ दिनपछि खेल रद्द भएको छ ।
लखनउ इकाना क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा वर्षाका कारण चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टसबीच भएको खेल वर्षाका कारण रद्द भएको हो ।
४ वर्ष र २४९ खेलपछि आईपीएलको एक खेल रद्द भएको हो । खेलमा १९.२ ओभरको खेलमात्र सम्भव भएको थियो ।
पहिले ब्याटिङ गरेको लखनउले १९.२ ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको थियो । शानदार बलिङ गरेको चेन्नईले यो खेल वर्षाले रोकिँदा महत्वपूर्ण एक अंक गुमाएको छ । खेल हुन नसकेपछि दुवै टिमले १–१ अंक पाएका छन् ।
अंक तालिका
९ खेलबाट १२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । लखनउ सुपर जाइन्टस र चेन्नई सुपर किंग्सको ११ अंक छ । राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेंगलोर, मुम्बई इन्डियन्स र पञ्जाब किंग्सको समान १० अंक छ ।
कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदराबाद र पुछारको दिल्ली क्यापिटल्सको ६ अंक छ ।
आजको खेल
आज बेलुकी ७ः४५ बजे हैदराबादले घरेलु मैदानमा कोलकातासँग खेल्दैछ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।