काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले मंगलबार रातिको खेलमा साविक विजेता गुजरात टाइटान्सलाई पराजित गरेको हो । अहमदाबादमा भएको खेलमा दिल्ली ५ रनले विजयी भयो ।
पहिले ब्याटिङ गरेको दिल्लीले कमजोर खेल्दै ८ विकेट गुमाएर १३० रन बनायो । अमन हाकिम खानले ४४ बलमा ५१ तथा रिपल पटेलले १३ बलमा २३ रन बनाए । २३ रन जोड्दा ५ विकेट गुमाइसकेको दिल्लीका लागि अक्षर पटेलले ३० बलमा २७ रन बनाए ।
शानदार बलिङ गरेका मोहम्द शामीले ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहित शर्माले २ विकेट लिए । राशिद खानले १ विकेट लिए ।
जवाफमा गुजरातले ६ विकेटको क्षतिमा १२५ रनमात्र बनाउन सक्यो । कप्तान हार्दिक पाण्डेयाले ५३ बलमा अविजत रहँदै ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
खलिल अहमद र इशानत शर्माले २–२ विकेट लिए ।
अंक तालिका
८ खेलबाट १२ अंकसहित गुजरात टाइटान्स शीर्ष स्थानमा छ । राजस्थान रोयल्स, लखनउ सुपर जाइन्टस, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंगलोर र पञ्जाब किंग्सको समान १० अंक छ ।
मुम्बई इन्डियन्सको ८ अंक छ । कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादको ६ अंक छ । पुछारको दिल्ली क्यापिटल्सको ६ अंक छ ।
आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे लखनउले घरेलु मैदानमा चेन्नईसँग खेल्नेछ ।
बेलुकी ७ः४५ बजे पञ्जाबले घरेलु मैदानमा मुम्बईसँग खेल्दैछ ।
१६ औं संस्करणसम्म आइपुग्दा मुम्बईले सबैभन्दा बढी ५ उपाधि जितेको छ । चेन्नई सुपर किंग्सले ४, कोलकाता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, राजस्थान रोयल्स र गुजरात टाइटान्सले १–१ उपाधि जितेका छन् ।