- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट झण्डै ५ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले ४ किलो ९२७.२१८ ग्राम अवैध सुनसहित पक्राउ परेका दुई जनालाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
प्रहरीले सुनसहित पक्राउ पर्ने विराटनगर ९ का ४२ वर्षीय रमेश सोनी र सोही ठाँउका ३६ वर्षीय प्रकाश ठाकुरसहित बरामद गरिएको अवैध सुनलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ परेका उनीहरुबाट प्रहरीले सुनका चुरा, ब्रास्लेट, मंगलसूत्र, बाला, ढुङ्ग्री, औँठीलगायत बरामद गरेको जानकारी दिएको छ । त्यस्तै साथै उनीहरुको साथमा इस्टमेट बिलको १ थान ठेली, १ थान डिजिटल तराजु , १४ थान विभिन्न मितिमा विभिन्न स्थानमा बिक्री गरेको इस्टमेट बिल, एनआईसी एसिया बैंकमा जम्मा गरेको ७ लाख ३३ हजार ४ सय रुपैयाँको भौचर, प्रकाश ठाकुरको नाममा ३ लाख ८६ हजार ४ सय काटेको एनएमबी बैंकको चेक र विभिन्न दरको नोट गरी नगद ३५ हजार बरामद गरिएको बाँके प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार बुधबार राति बरामद गरिएको उक्त अवैध सुनको मूल्य ४ करोड ६९ लाख ५ हजार ७सय ६३ रुपैयाँ रहेको जनाएको छ। प्रहरीले पक्राउ परेका दुई जनासँग सुनका बारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
यसरी बरामद भयो अवैध सुन
बुधबार साँझ नेपालगन्ज बजारमा बाँके बाहिरका दुई जना व्यक्तिले केही मूल्यवान सामग्री बोकेर शंकास्पद तरिकाले हिडिरहेका छन् भने विशेष सूचना जिल्ला प्रहरी कार्यालय बाँकेमा जान्छ ।
पहिलो सूचना प्राप्त भएको केही क्षणमै पुनः बाँके प्रहरीले ती व्यक्तिले ठूलो परिमाणमा अवैध सुन बोकेर हिँडिरहेको भन्ने दोस्रो सूचना प्राप्त गर्छ ।
त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोशाकका प्रहरीहरु नेपालगन्ज बजार भर परिचालन भएर ती दुई शंकास्पद व्यक्तिहरुको खोजीमा हरेक गल्लीहरुमा छरिन्छन् ।
खोजीमा निस्किएका प्रहरीहरुलाई ती व्यक्तिको नाम के हो र उनीहरु कहाँ बसेका छन् भन्ने स्पष्ट जानकारी नपाउँदा धेरै बेर कष्ट हुन्छ । तर पनि बाँके प्रहरी उनीहरुको खोजी गर्न कुनै कन्जुस्याइँ गर्दैन ।
ती दुई व्यक्तिको खोजीमा निस्किएको प्रहरी टोलीलाई अन्ततः राति उनीहरु नेपालगन्ज ४ स्थित न्यूरोडको न्यू ईन्द्रेणी होटेलतर्फ भएको अर्को सूचना पुग्दा प्रहरीको टोली त्यस स्थानतर्फ जान्छ।
बाँके प्रहरीको टोलीले आखिर ती दुई व्यक्तिलाई भेटाएर पछ्याउँछ। शंकास्पद तरिकाले हिँडिरहेका ती दुईसँँग झोला भए पनि त्यतिबेला नै उनीहरुलाई नियन्त्रणमा लिन आवश्यक ठान्दैन । बरु प्रहरीको टोलीले उनीहरुको कडा निगरानी गर्दै प्रहरीको दलबलले पुनः पछ्याउँछ ।
अन्ततः ती दुई शंकास्पद एक होटलमा पुगे लगत्तै करिब पौने ९ बजेतिर प्रहरीले उनीहरुविरुद्ध धावा बोलेर नियन्त्रणमा लिन्छ। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कल्पनै नगरेको सुन प्रहरीले बरामद गर्न पुग्छ ।
यसअघि तत्कालीन बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको समयमा पनि ४ किलो बढी सुन नेपालगन्ज विमानस्थलबाट प्रहरीले बरामद गरेको थियो ।