arrow

चारतारे झण्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार छैन – मन्त्री लामा

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
kavre-congress-tirtha-lama.jpg

काठमाडौं ।  बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालाई बधाई ज्ञापन गरिएको छ  । आइतबार बागमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाएका नेपाली कांग्रेस काभ्रेका सभापति लामालाई नेकांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो । 

कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका पार्टी सभापति, पदाधिकारी, काठमाडौंमा पेशा, व्यवसाय गरेर बसेका कांग्रेसका क्रियाशील एवं शुभेच्छुकहरुले बागमती प्रदेश सरकारमा काभ्रेको प्रतिनिधित्व गरेकामा बधाई ज्ञापन गरेका हुन् ।  

२०७९ सालमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रे प्रदेश सभा १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । 

कार्यक्रममा बोल्दै हुमागाईले अवसरसँगै चुनौती पनि थपिएको भन्दै त्यसलाई काभ्रे र समग्र प्रदेशवासीको हितमा उपयोग गर्न अनुरोध गरे । 

उनले एकपछि अर्को गल्ती नगर्न काभ्रेमा कार्वाही सिफारिस गरिएका नेताहरुलाई अनुरोध गरे । ‘पार्टी भन्दा व्यक्ति ठूलो कहिले पनि हुन सक्दैन, पार्टीका उम्मेदवार हराएर तपाईले गर्नुभएको गल्ती सारा काभ्रेलीलाई थाहा छ, एउटा गल्ती लुकाउन तपाईहरु अर्को गल्ती नगर्नुहोला,’ समानान्तर गतिविधिका नाममा भइरहेका गतिविधि लक्षित गर्दै उनले भने, ‘पार्टीका उम्मेदवार हराउने कुराले इमान्दार कार्यकर्ताको मन कुडिएको छ, तपाईहरुका गतिविधिले एकतावद्ध पार्टी हेर्न चाहनेको मन नकुँडियोस् ।’ 

नवनियुक्त मन्त्री एवं काभ्रे कांग्रेस सभापति लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए । उनले पार्टीका नेता कार्यकर्ताको मार्गदर्शनको आधारमा चल्ने भन्दै काभ्रे, पार्टी र कसैको पनि शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता जनाए । 

चारतारे झण्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार नभएको भन्दै उनले सुर्य चिन्हमा भोट हाल्ने, हाल्न लगाउने कोही पनि कांग्रेस हुन नसक्ने बताए । जतिसुकै चर्का र लामो भाषण गरेर मतदाता र कार्यकर्तालाई भ्रममा पार्न खोजिए पनि आफ्नो मनलाई ढाट्न नसकिने बताए ।

कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख) का सभापति चन्द्रबहादुर लामा, नमोबुद्ध नगर सभापति एवं नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाली कांग्रेस नमोबुद्ध– काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङ उपसभापति सिद्धिबहादुर दाहाल लगायतले पार्टीमा अनुशासन कायम गर्दै एकतावद्ध भएर लाग्नुपर्ने अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ