arrow

वेथिति विरुद्धको आफ्नो सङ्घर्ष जारी रहने राहुलको प्रतिबद्धता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ११ शनिबार
rahul-gandhi-2023-03-25.jpg

नयाँदिल्ली । भारतका प्रतिपक्ष  दल कंग्रेस आईका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए ।  

आज यहाँ भएको पत्रकार सम्मेलनमा उनले संसद् सदस्य हुनु र नहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै वेथितिविरुद्धको आफ्नो सङ्घर्ष जारी रहने बताए । 

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्बाट निष्काशन गरिएको बताउँदै उनले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताए । 

आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उनले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने दृढता व्यक्त गरे । उनीहरूको सम्बन्धको छानबिन हुनैपर्ने उनले दोहोर्याए । 

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भनेका थिए । उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो भनेका थिए ।

नेता गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी भाजपाका विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । 

गत शनिबार अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट उनलाई संसद्बाटसमेत हटाइएको हो । 

आलोचकहरूले विपक्षी र अधिकारकर्मीहरूलाई दबाउन मोदी सरकारले कानून प्रयोग गरेको आरोप लगाएका छन् । गान्धीलाई संसद्बाट हटाइएको विरोधमा भारतका विभिन्न शहरमा आज विरोध प्रदर्शन भएका थिए । 



लोकप्रिय समाचार
नयाँ