कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेपछि क्याम्पसको स्ववीयू कार्यालयमा ताला
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २७ शनिबार
866
Shares
पोखरा । स्ववीयू निर्वाचन मुखमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसको स्ववियु कार्यालयमा ताला लगाइएको छ । केही विद्यार्थी संगठनले कर्मचारीले विद्यार्थीको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै विज्ञप्ति टाँसेर तालाबन्दी गरेका हुन् ।
विज्ञप्ति निकालेर तालाबन्दी गर्नेमा अखिल क्रान्तिकारी पिएन अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्त अध्यक्ष गगन परियार छन् । उनीहरुले क्याम्पस प्रशासनसमक्ष दुई बुँदे माग पनि राखेका छन् ।
‘पृथ्वीनारायण क्याम्पसमा स्ववीयू निर्वाचन समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुंगो नहुँदै केही अमूक विद्यार्थी संगठनलाई मतदाता नामावलीपत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववीयू निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘त्रिभुवन विश्वविद्यालयमार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक र कर्मचारीले आसन्न स्ववीयू निर्वाचनमा मतदान गर्न नपाउने र फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुन प्रकाशित गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।
केही विद्यार्थी संगठनले भने स्ववीयू निर्वाचन विथोल्ने प्रपञ्च भइरहेको आरोप लगाएका छन् । उनीहरुले आन्दोलनरत पक्षको मागमा कुनै तर्क नभएको जिकिर गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयू) निर्वाचन आगामी ५ चैत्रमा हुँदैछ । गत २२ पुसमा बसेको त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको मिति तोकेसँगै विद्यार्थी संगठनले तयारी थालेका छ्न् । त्रिविले पनि क्यालेन्डर नै बनाएर काम गरिरहेको छ । त्रिवि मातहत पोखराका क्याम्पसहरुमा चुनावी सरगर्मी बढेको छ ।