arrow

फागुनमै खुल्न थाले मनाङका विद्यालय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
School manang.jpg

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको शुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । 

मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए । उनका अनुसार केही विद्यालयका विद्यार्थी तथा शिक्षक मङ्सिरको अन्तिम साता अर्धवार्षिक परीक्षा सकेर चिसो छल्न बेँसी झरेका थिए ।

यस वर्ष हिमपात नहुँदा विद्यालय अलि छिट्टै सञ्चालन गरिएको उनले बताए । यस वर्ष यहाँ हिमपात नभएकाले मनाङवासी छिट्टै फर्किएको र अभिभावकसँगै बालबालिका आएपछि नियमित कक्षा सञ्चालन गरिरएको प्रमुख चपाईंले भने । 

विगतका वर्षमा जिल्लामा मङ्सिरमा वार्षिक परीक्षा सकेर हिउँदमा चिसो छल्न बेँसी झर्ने प्रचलन थियो । गत वर्षदेखि अन्य जिल्लासँग पठनपाठनको समानताका लागि चैतमा वार्षिक परीक्षा गर्न थालिएको उनले बताए । 

पुस र माघमा यहाँ बढी चिसो हुने भएकाले दुई महिना विद्यालय बन्द गर्नुपर्ने बाध्यता नै छ । फागुन १ गतेदेखि सदरमुकाम चामे र नासों गाउँपालिकाका विद्यालयमा नियमित पढाइ सञ्चालन भएको चपाईंले बताए । उनका अनुसार जिल्लास्थित कार्यालयले विद्यालय खोल्न सूचना प्रकाशित गरे पनि अधिकांश विद्यालय फागुन १ गतेदेखि नियमितरुपमा सञ्चालन भएका छन् ।

माथिल्लो मनाङमा भने अझै विद्यालय खुलाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङमा बढी चिसो हुने हुँदा यस क्षेत्रका बासिन्दा जिल्ला नफर्किंदा केही ढिलो गरी कक्षा सञ्चालन हुने उनले बताए ।

सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय आवासीयरुपमा सञ्चालन भएको छ । हिमाली क्षेत्रमा विद्यालय टाढाटाढा हुँदा समस्या हुनाका साथै विद्यार्थीलाई जिल्लामा नै टिकाउन आवासीयरुपमा सञ्चालन गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । 

अध्यक्ष घलेले विद्यार्थीलाई विद्यालय आवतजावतमा समस्या हुँदा विद्यार्थी घट्न थालेकाले जिल्ला बाहिर अभिभावकले बालबालिका राखेर पठनपाठन गराउनुपर्ने अवस्था सिर्जना भएको बताए । 

सङ्घीयता कायम भएपश्चात् चामेका पाँच विद्यालयलाई एकीकृत गरी आवासीय बनाइएको उनले बताए । जिल्लाका लोकप्रिय माध्यमिक विद्यालय र तिमाङस्थित गौरीशङ्कर आधारभूत विद्यालयमा आवासीयरुपमा पठनपाठन भइरहेको छ । चिसो बढी भए पनि विद्यार्थीलाई वार्षिक परीक्षामा सकस हुन्छ भनेर पठनपाठन शुरु गरिएको गौरीशङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजङ्ग गुरुङले बताए । 

यस्तै, थोंचेको प्रकाशज्योति माध्यमिक विद्यालय र तालगाउँस्थित भानु माध्यमिक विद्यालयमा नियमितरुपमा पठनपाठन शुरु भएको छ । भानु माध्यमिक विद्यालयमा बाढीका कारण जोखिम बढ्दा विद्यार्थी घटेका नासोँ-१ का वडाध्यक्ष मीनराशी गुरुङले बताए । 

“गत वर्ष विद्यालयमा बाढी पस्दा यहाँ विद्यार्थी घटेका छन्, बाढीको जोखिम भएपछि विद्यार्थी पढ्न बाहिरी जिल्लातर्फ गएको पाइएको छ”, अध्यक्ष गुरुङले भने । 

जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएको उनले बताए। तालगाउँमा जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण गरिएपछि यहाँका स्थानीयले आवास निर्माण तथा मर्मत गरेपछि बसोबास गर्न थालिएको उनले बताए । 

यसवर्ष हिमपात नभए पनि चिसो बढी नै छ । फागुन लागे पनि चिसो अझैँ घटिसकेको छैन । यसले गर्दा माथिल्लो मनाङका विद्यार्थी, शिक्षक तथा कर्मचारी कार्यक्षेत्रमा पुग्न सकेका छैनन् । 

चिसोका कारण अधिकांश स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिसमेत जिल्ला बाहिर नै छन् । माथिल्लो मनाङ क्षेत्रका शिक्षक, विद्यार्थी जिल्ला भित्रिने क्रम रहेका चपाईंले बताए । 

माथिल्लो मनाङका बासिन्दा जिल्ला आउन ढिला गर्दा शिक्षक तथा कर्मचारीसमेत चैतमा मात्रै विद्यालय आउने गरेका स्थानीय बताउँछन् । विद्यार्थी र अभिभावकसँगै कर्मचारी तथा शिक्षक समयमै गाउँ आएर सेवा दिनुपर्ने स्थानीयको भनाइ छ। -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ