arrow

सामुदायिक विद्यालयमा विद्यार्थी घट्दा चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २५ बुधबार
Internet school.jpg
फाइल तस्वीर

पोखरा । कुनै बेला आँपको चौतारमा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका-१७ महतगौंडामा अहिले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षासँगै वनविज्ञान समेतको अध्यापन भइरहेको छ ।

शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका बासिन्दाले आजभन्दा झन्डै छ दशकअघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छाएको छाप्रोमा पढ्ने गरेकामा अहिले भने भौतिकरुपमा सुविधासम्पन्न जानकी माध्यमिक विद्यालयमा पठनपाठन भइरहेको छ ।

आँपको चौतारामा पढाइ भइरहँदा घाम तथा पानीको समस्या परेपछि घरघरबाट चारमुट्ठा खर र एउटा बाँस सङ्कलन गरी छाप्रो बनाएर पढाउन थालिएको ८८ वर्षीय चुडामणि भण्डारीलाई झलझलती याद आउँछ ।

आफ्नो समयमा गाउँमा पठनपाठन सुरु नहुँदा दोपहरे मामाको घरमा बसी कृष्तीनाच्ने चौरमा बाह्रखरी पढेको अनुभव सुनाउँदै उाी त्यसै प्रेरणाबाट गाउँमा विद्यालय खोल्नका लागि सक्रियता बढाइएको बताउछन् ।

विसं २०२३ तिर गाउँमा नै पढाउनुपर्ने आवश्यकता महसुस गरी आँपको चौतारामा पढाउन थालिएको र पछि व्यवस्थित गराउँदै लैजाने क्रममा खर तथा बाँस प्रयोग गरी छाप्रो बनाइएको भण्डारी सुनाउछन् । विद्यालयले संस्थागतरुपमा भने झन्डै डेढ दशकपछि मात्रै २०३५ सालमा सरकारी मान्यता प्राप्त गरेको हो ।

विद्यालय रहेको जग्गामा पनि लामो समयसम्म विवाद भएको स्मरण गर्दै उनी त्यसबारे आफू लगायतले ११ वर्षसम्म तारिक बोक्नुपरेको गुनासो गर्छन् । “यहाँको विद्यालय स्थापना गर्न महतगौंडावासीको धेरै श्रम र पसिना खर्चिएको छ”, भण्डारी भन्छन्, “दुःख गरेर बनाइएको विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थी संख्या घट्नु चिन्ताको विषय बनेको छ ।”

स्थानीयवासीले निजी विद्यालयमा आफ्ना बालबच्चा पठाउन थालेका कारण पनि सामुदायिक विद्यालयमा केवल विपन्न, मजदुरका बालबालिका मात्रै पढाउने प्रचलन बढ्नाले राज्यको शिक्षाप्रतिको लगानी पनि अवमूल्ययन भएको उनको भनाइ छ ।

महतगौंडाकै ९४ वर्षीय चन्द्रकान्त भण्डारी आफूहरूले पढ्न नपाए पनि सन्ततिका लागि शिक्षाको उज्यालो घाम लागोस् भन्ने उद्देश्यले विद्यालय खोलेको बताउछन् ।

“तत्कालीन समयमा धनञ्जय भण्डारी तत्कालीन गाउँ मुखिया, देवदत्त भण्डारी, दानबहादुर मगर, धनराज सुवेदी, प्रेमलाल भण्डारी, नरहरि भण्डारी, जीतबहादुर भण्डारी, धर्मदत्त भण्डारीलगायतको विद्यालय खोल्नमा ठूलो योगदान थियो”, उनी भन्छन्, “समाजलाई सचेत बनाउनका लागि गरिएको प्रयासले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।”

तत्कालीन समयमा कसैको गाईवस्तुले खेतबाली खाइदिएमा तिर्नुपर्ने अर्मलसमेत सम्बन्धित व्यक्तिले नलिई स्कुल सञ्चालनका लागि जम्मा गर्ने गरेको उनी सुनाउछन् ।

वन विज्ञानको पढाइ 

पछिल्लो समय सामुदायिक विद्यालयले प्राविधिक शिक्षामा जोड दिइरहेको वर्तमान अवस्थामा यस विद्यालयमा तीनवर्षे वन विज्ञानको पढाइ सञ्चालन गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा पहिलो वन विज्ञान पढाइ शुरु गरिएको यस सामुदायिक विद्यालयमा पहिलो वर्षमा १६ विद्यार्थी र आठ शिक्षकशिक्षिका आबद्ध छन् । 

तीन वर्षको कोर्षका लागि कूल एक लाख २५ हजार शुल्क लिने गरिएको वन विज्ञान कार्यक्रम संयोजक शङ्करराज भण्डारी जानकारी दिन्छन् ।

विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको पढाइलाई प्रभावकारी एवम् गुणस्तरीय बनाउन पोखरा महानगरपालिकाले प्रयोगशाला स्थापनार्थ रु १५ लाख बजेट विनियोजन गरेको छ । विद्यालयमा हाल ३५७ विद्यार्थी अध्ययरत छन् ।

पढ्दै सीप सिक्दै विद्यार्थी

कापीकलम लिने विद्यार्थीका कलिला हातले चक्कुको सहयोगले बाँसका सामग्री निर्माण गरी बिक्री वितरणसमेत गर्दै आएका छन् । पढाइसँगसँगै सीप विकासमा जोड दिँदै आयआर्जन गर्ने लक्ष्यका साथ यो कार्यक्रम शुरु गरिएको हो ।

विद्यालयमा बेलाबखतमा हुने औपचारिक कार्यक्रममा समेत विद्यार्थीद्वारा निर्माण गरिएका बाँसका सामग्री अतिथिहरुलाई मायाको चिनो प्रदान गरिँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक कमल आचार्य जानकारी दिन्छन् ।

उनका अनुसार विद्यार्थीको पढाइलाई पहिलो प्राथमिकता दिँदै फुर्सदिलो समयमा उत्पादित सामग्री पोखरा र आसपासमा हुने विभिन्न मेला महोत्सवमा स्टल राखेर बिक्री वितरण गर्दै आइएको छ । 

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा १६ हजार मूल्य बराबरको सामग्री बिक्री गरिएको उनको भनाइ छ । जानकी माविको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ