arrow

गृहको निर्देशनमा प्रचण्डको हस्तक्षेप, कार्यविधिको भएन काम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
prachanda-ravi-lamichane.jpg

काठमाडौं । सिडिओ सरुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेका छन् । गृह मन्त्रालय निर्माण गरेको कार्यविधि अनुसार माघ ६ गते गोरखा सहित विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवमा प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप गरेका हुन् । ‘आफ्नो जिल्लाको सिडिओ सरुवामा नसोधेको भन्दै गोरखा सरुवा गरिएका सिडिओलाई त्यहाँ जान रोकेका छन्। 

गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलवस्तु सरुवा भएपछि  सिराहामा रहेका लालबाबु कवारीलाई गोरखाको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको थियो तर गोरखा जान लागेका उनलाई बाटोबाटै मन्त्रालय फिर्ता बोलाइएको छ । 

गृह मन्त्रालयको प्रशासन महाशाखाका सह सचिव गोबिन्दप्रसाद रिजालले माघ ६ गते गोरखा सरुवा गरिएको प्रजिअ लालबाबु कवारीको सरुवा रोकिएको बताए । ‘गोरखा को पठाउने भन्ने यसअघिको निर्णय फेरिएको हो, लालबाबु कवारीलाई गृह मन्त्रालय सरुवा गरिएको छ, गोरखामा छिट्टै प्रमुख जिल्ला अधिकारी तोकिनेछ ।’

सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर बिहीबारदेखि काम थालिसके भने गोरखा तोकिएको प्रजिअलाई गृह मन्त्रालयले बुधवार अर्को पत्र पठाएर गोरखा नजान रोकिएको हो । ‘प्रधानमन्त्रीज्यूको रुचिमा गोरखाको सिडिओ सरुवा रोकिएको हो’, गृहमन्त्रालय स्रोतले भन्यो ‘उहाँले मलाई नसोधी सरुवा गरेको भन्दै सहसचिव विनोद सिंहलाई भन्नु भएको रहेछ त्यस कारण रोकिएको हो ।’ कवारी भने गोरखा जाने तयारीमा थिए । 

‘गोरखा जान तयार थिएँ, रमाना लिएर हिँड्ने तयारी गरेकै बेला अर्को पत्र आयो, मन्त्रालयमा हाजिर हुन भनिएको छ’ गोरखा तोकिएर मन्त्रालय तानिएका लालबाबु कवारीले भने । कवारीको सरुवा रोकिएपछि गृहमन्त्री रवि लामिछानेले बनाएको कार्यविधिले पनि हावा खाएको  छ । कसैको दबाब प्रभावमा नपरी योग्यता र क्षमताको आधारमा प्रमुख जिल्ला अधिकारी सरुवा गर्न कार्यविधि ल्याएको भनिए पनि कवारीको सरुवा मात्रै होइन दोलखा र अछाम र स्याङजाको सरुवाबाट पनि कार्यविधि हावा भएको थियो । 

गृहमन्त्री लामिछानेले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९ जारी गरेका थिए । कार्यविधि जारी गर्दै उनले दबाबमा कसैको सरुवा नहुने, नियमसंगत हुने बताएका थिए । तर गोरखामा सरुवा भएका प्रजिअ राजनीतिक दबाबकै कारण चार दिनमा फेरिएको चर्चा जिल्लामा छ । 

कार्यविधिमा उल्लेख भए अनुसार गोरखा  ‘ख’ श्रेणीको जिल्लामा पर्छ । सिराहालाई पनि ‘ख’ श्रेणीमा राखिएको छ । गोरखा आउन लागेका र यसअघि रहेका दुवै एकै तहका हुन् । गृहका कर्मचारीले सिडिओ सरुवामा पारदर्शी अपनाएको बताएका थिए । उनीहरूले अहिलेको सरुवाबाट कसैलाई पनि अन्याय नभएको तर केही ठाउँमा अन्याय देखिएको भए पनि मन्त्रालयले मिलाउने तयारी गरेको बताइरहेका बेला प्रधानमन्त्री प्रचण्ड आफैले फोन गरेर आफ्नो जिल्लाको सिडिओ सरुवामा हस्तक्षेप गरेका छन् । 

यसअघि प्रचण्डले मन्त्रिपरिषद्को बैठकबाट सहसचिवहरुको काज सरुवामा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्ने निर्णय गराएर मन्त्रीहरूलाई अङ्कुश लगाउन खोजेका थिए । काम काज र काज सरुवामा प्रधानमन्त्रीको सल्लाह लिनुपर्ने निर्णय गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ