arrow

गृहमन्त्री रवि लामिछानेले बनाएको मापदण्ड र कार्यविधि उल्लङ्घन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
ravi-lamichhane-home-minister-2079-09-11.jpg

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सिडिओ सरुवाका लागि बनाएको  मापदण्ड र कार्यविधि दुई दिनमै उल्लङ्घन भएको छ। गृह मन्त्रालयले एकै पटक ७० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गर्दा नै सो मापदण्ड उल्लङ्घन भएको हो । जिल्लालाई वर्गीकरण गरेपनि सहसचिवको दरबन्दी भएको जिल्लामा पनि उपसचिवलाई पठाएर सो मापदण्ड उल्लङ्घन गरेका हुन्।   

मन्त्रालयले उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूको सरुवा गर्दा सो मापदण्ड उल्लङ्घन भएको पाइएको छ । 

शुक्रवार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै काठमाडौंलगायतका सात जिल्ला बाहेक सबै जिल्लाका सिडिओेको सरुवा गरेको छ । उपसचिवलाई उपसचिवकै रूपमा सरुवा नगर्ने मापदण्ड विपरीत रुकुमका परमानन्द घिमिरेलाई रोल्पा सरुवा गरिएको छ । सामान्यतया एक वर्षमा सरुवा हुने गरेका सिडियोको मापदण्डलाई मिच्दै स्याङ्जा र अछामका सिडियोलाई पाँच महिना सरुवा गरिएको छ । रोल्पामा सहसचिवको दरबन्दी हुँदा हुँदै पनि घिमिरेलाई रोल्पा पठाइएको हो ।

अर्को रमाइलो विषयचाहि के हो भने पर्वत, गुल्मी, अर्घाखाची, लम्जुङ, रोल्पा, प्यूठानमा सहसचिव थिए। त्यहाँ उपसचिवलाई पठाइएको छ। त्यस्तै दोलखामा पनि सहसचिवको दरबन्दी भएपनि त्यहाँ पनि उपसचिवलाई सिडियो बनाइएको छ । दोलखामा सहसचिव भोजराज खतिवडाको ठाँउमा शेखर पौडेललाई पठाइएको छ। स्याङजाका गंगाबहादुर थापाको भदौमा सरुवा भएको थियो । उनलाई विनाकारण एक वर्ष नपुगी मन्त्रालयमा सरुवा गरिएको छ।

गृहमन्त्रालयले बनाएको मापदण्ड र कार्यविधिअनुसार काठमाडौँ, ललितपुर, कास्की, कैलाली, चितवन, झापालगायत १२ जिल्ला ‘क’ वर्गमा रहेका छन् । त्यस्तै ‘ख’ वर्गमा २७ जिल्ला रहेका छन् भने ‘ग’ वर्गमा २२ जिल्ला रहेका छन् । बाँकी १५ जिल्ला वर्गविहीन रहेका छन् । यी १५ जिल्लामा पनि उपसचिवकै दरबन्दी कायम गरिएको छ ।

राष्ट्रिय परिचय पत्रकी उपसचिव मिना अर्याललाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको प्रजिअमा सरुवा गरिएको छ । जबकि त्यहाँ सहसचिवको दरबन्दी रहेको छ ।  सिराहका प्रजिअ लालबाबु कवारीलाई गोरखामा, दोलखाका भोजराज खतिवडालाई सिराहामा, गृह मन्त्रामलयका उपसचिव शेखर पौड्याललाई दोलखाको प्रजिअमा पठाइएको छ। रोल्पाका नवराज सापकोटालाई बारामा, रुकुमका परमानन्द घिमिरेलाई रोल्पाको प्रजिअमा सरुवा गरिएको छ । त्यहाँ पनि सहसचिवको दरबन्दी रहेको छ । 

यसैगरी, अछामका प्रजिअ रामदत्त पाण्डेलाई गृह मन्त्रालयमा, सिन्धुलीका रमेश न्यौपानेलाई सिन्धुपाल्चोकमा, प्युठानकी सुनिता नेपाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ।सर्लाहीका थानेश्वर गौतमलाई गृह मन्त्रालयमा, राष्ट्रिय परिचय पत्रका लक्ष्मण ढकाललाई अछामको प्रजिअमा, गुुल्मीका पुण्यविक्रम पौडेललाई काभ्रेपलाञ्चोकमा, राष्ट्रिय परिचयपत्रका निर्देशक सागरमाणि पाठकलाई गुल्मीको प्रजिअमा, गृहमन्त्रालयकी लीलाकुमारी केसीलाई धनकुटाको प्रजिअ बनाएर पठाइएको छ । 

यसैगरी, ओखलढुंगाका प्रजिअ दिलकुमार तामाङलाई गृहमन्त्रालयमा ,काभ्रेका हुमकला पाण्डेलाई सुनसरीमा, चितवनका आशमान तामाङलाई गृहमन्त्रालयमा, वाग्लुङका रमेश ढकाललाई धादिङमा, नुवाकोटका नारायण प्रसाद रिसाललाई गृहमन्त्रालयमा ,झापाका छविलाल रिजाललाई तनहुँको प्रजिअमा सरुवा गरिएको छ । 

यसैगरी तनहुँका प्रजिअ विश्वप्रकाश अर्याललाई नवलपरासी वर्दघाट सुस्ता पश्चिमको प्रजिअमा, मोरङका प्रजिअ काशीराज दाहाललाई धनुषाको प्रजिअमा, धनकुटाका युवराज कटेललाई कैलालीको प्रजिअमा, कटेल यसअघि पनि राम्रो जिल्ला हाँक्ने भाग्यमानी सहसचिव हुन । गृहमन्त्रालयका सहसचिव शिवराम पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीमा, राष्ट्रिय परिचयपत्रका महानिर्देशक तीर्थराज भट्टराइलाई मोरङको प्रजिअमा, गृहमन्त्रालयका सुरेन्द्र पौडेललाई चितवनको प्रजिअमा, सल्यानका विपीन आचार्यलाई बाँकेको प्रजिअमा, इलाका प्रशासन कार्यालय साँखुका कृष्णचन्द्र पौडेललाई सल्यान र धादिङका कृष्णप्रसाद लम्साललाई नवलपरासी बर्दघाट सुस्तापूर्वको प्रजिअमा सरुवा गरिएको छ ।   

यस्तै नवलपरासी वर्दघाट सुस्तापूर्वका सुमन घिमिरेलाई गृह मन्त्रालयमा, दाङका हिरालाल रेग्मीलाई पर्साको प्रजिअमा, लम्जुङका सुशील वैद्यलाई दाङको प्रमुख जिल्ला अधिकारीमा, पर्साका प्रजिअ उमेशकुमार ढकाललाई गृहमन्त्रालयमा, जेलर बसन्तराज पुरीको जिल्ला प्रशासन कार्यालय लमजुङको प्रजिअ बनाएर पठाइएको छ । त्यहाँ पनि सहसचिवको दरबन्दी भएकोमा उपसचिव पुरीलाई पठाइएको हो ।  भक्तपुरकी रुद्रादेवी शर्माको गृहमन्त्रालयमा, सुर्खेतका खगेन्द्र प्रसाद रिजालको भक्तपुरको प्रजिअ बनाइएको छ । पर्वतका नारायण प्रसाद सापकोटाको सुर्खेतको प्रजिअमा, तनहुँका सहायक प्रजिअ चित्रांगत बराललाई पर्वतको प्रजिअ बनाइएको छ । जहाँ सहसचिवको दरबन्दी रहेको छ ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिमका श्रवण कुमार पोखरेललाई इलामको प्रजिअमा, अर्घाखाँचीका शशीधर घिमिरेलाई स्याङ्जाको प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ