arrow

रेडक्रस कास्कीको अधिवेशन र निर्वाचन प्रक्रिया अवैधानिक : कास्की कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
pokhara-congres-kaski.jpg

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको अधिवेशन र अधिवेशनबाट गरिएको नयाँ नेतृत्व चयन प्रक्रिया अवैधानिक भएको भन्दै नेपाली कांग्रेस कास्कीले पुनः निर्वाचन गर्न माग गरेको छ । 

पार्टीको आज सम्पन्न बैठकले यस्तो माग गरेको हो । रेडक्रस कास्कीको अधिवेशन र नयाँ नेतृत्व चयन विधिसम्मत नभएको भन्ने कुरा सदस्यहरुबाटै बाहिर आइरहेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पार्टी सचिव भानु ढकालले जानकारी दिए । 

‘एउटा पार्टीको भातृसंगठन जस्तो हिसावले रेडक्रसको निर्वाचन गरिएकोप्रति कास्की कांग्रेसको गम्भीर ध्यानाकर्षण छ । बैठकले लोकतान्त्रिक पद्धति बमोजिम पुनः निर्वाचन गराउन माग गर्ने निर्णय गरेको छ’, उनले भने ।

रेडक्रस जस्तो अन्तर्राष्ट्रिय संस्थालाई एउटा पार्टीको भातृ संस्था जस्तो बनाइएको भन्दै सचिव ढकालले रेडक्रस कास्कीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न माग गरे । उनले रेडक्रसले लोकतान्त्रि तवरले फेरि निर्वाचन नगरे कास्की कांग्रेसले कडा कदम चाल्ने चेतावनी दिए । 

रेडक्रस कास्कीको गत शनिबार सम्पन्न १६ औं अधिवेशनले सभापति डण्डराज शर्मा पौडेलको नेतृत्वमा पदाधिकारीहरु सर्वसम्मत चयन गरेको थियो भने सदस्यहरु भने निर्वाचन प्रक्रियाबाट गरेको थियो । 

रेडक्रसको उपसभापतिमा धर्म अधिकारी, महिला उपसभापतिमा उर्मीला खड्का, मन्त्रीमा सुरेन्द्र गुरुङ, उपमन्त्रीमा रमा न्यौपाने कोइराला चयन भएका थिए ।

पार्टीको बैठकले पोखरामा माघ १ गते भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको र शोकसन्तप्त सबै परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

यस्तै, पार्टीका पूर्व उपसभापति विष्णुप्रसाद बास्तोला, महासमिति सदस्य टेकनसुवा गुरुङ, क्रियाशील सदस्यद्वय पोखरा-२१ का कृष्ण पोखरेल र मादी-५ का दुर्गाबहादुर गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ