arrow

कांग्रेसको विश्वासको मतले जन्माएको शङ्काले एमालेमा हलचल

कांग्रेसलाई 'पोलिटिकल जस्टिस'को भरोसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
oli-deuba-prachanda.jpg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिएपछि राजनीतिक वृत्तमा हलचल शुरु भएको छ। सरकारलाई मत दिने कि नदिने बहसका बीच कांग्रेसले मत दिने निर्णय गरेको थियो।

प्रमुख प्रतिपक्ष रहनेगरि विश्वासको मत दिएको कांग्रेसको यो कदमबाट विशेष गरी एमाले सशङ्कित भएको छ। एमालेका नेताहरू सानो स्वरले के हुन लाग्यो ? प्रचण्डले कतै धोका दिने त होइनन्? भनेर छलफलमा होमिएका छन्। एमाले र अरू सत्ता साझेदार सशङ्कित हुनलाई विश्वासको मत दिएपछि कांग्रेस नेता रामचन्द्र पौडेलले संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा बोलेको एउटा पङ्क्तिले अझ सशङ्कित बनाएको छ एमालेलाई।

पौडेलले प्रतिनिधिसभा बाहिर संचारकर्मीहरूसँग कुरा गर्ने क्रममा यसो भनेका थिए- ‘संविधानमाथि आइपरेका खतरालाई हृदयङ्गम गरेर संविधान बचाउनका लागि प्रचण्डजीलाई मतदान गर्‍यौँ। संविधान रक्षाका लागि बनेको गठबन्धन हाइज्याक भयो यसलाई करेक्सन गर्न पक्षमा मतदान गर्‍यौँ,’ ।

उनको संविधान रक्षाका लागि बनेको गठबन्धन हाईज्याक भयो र कोर्स करेक्सनको पक्षमा भन्ने उक्तिले एमालेलाई संशयमा पारेको छ। प्रचण्डले गठबन्धन छाडेपछि औपचारिक कार्यक्रमहरू बाहेक कांग्रेस सभापति शेरबहादुर देउवासँग कुनै भेटघाट-बोलचाल भएको थिएन। प्रचण्डले विश्वासको मत लिने एक दिन अगाडि साँझ एक्कासि देउवालाई भेट्नु र देउवा विश्वासको मत दिन तयार हुनुलाई एमाले वृत्तले शङ्काको दृष्टिले हेरिरहेको छ।

सजिलै बहुमत पुगिरहेको प्रचण्ड सरकारलाई कांग्रेस सभापति देउवाले विश्वासको मत दिनका लागि पार्टीभित्र र बाहिर राम्रै आलोचना सहनुपरेको छ। यसरी आलोचना सहेर पनि विश्वासको मत दिनुलाई राजनीतिक विश्लेषकहरूले पनि चुरो कुरो पत्ता लाउन सकेका छैनन्।

कांग्रेस नेता पौडेलको 'कोर्स करेक्सन' भन्ने उक्तिलाई गम्भीर रूपमा एमालेले लिएको छ। नेपाली कांग्रेसबाट राष्ट्रपति पदक आकाङ्क्षी रहेका पौडेलको त्यो भनाइले एमालेभित्र राम्रो तरङ्ग उत्पन्न गरेको छ। प्रतिनिधि सभामा अङ्क गणितका हिसाबले पनि कांग्रेससँग एमालेभन्दा ११ सिट बढी रहेको छ। कांग्रेस प्रतिनिधिसभामा ठुलो दलको रूपमा रहेको छ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि कांग्रेससँग के सहमति भएको छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा कुनै सहमति नभएको बताएका थिए। त्यसैगरि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्काले पनि कुनै सहमति र समझदारी नभएको बताएका थिए।

प्रचण्डले देउवासँग के कस्तो समझदारी गरेका छन् र प्रचण्डले अब के गर्छन् भनेर एमाले लगायत अरू पार्टीहरूमा उत्पन्न तरङ्ग बढ्दै गएको छ।  यही तरङ्गका कारण प्रधानमन्त्री प्रचण्ड गोरखाको कार्यक्रमबाट सिधै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न पुगेका थिए। उक्त भेटमा सरकार विस्तार, प्रदेश सरकारको किचलो , सभामुख बारे छलफल भनिए पनि प्रमुख विषय कांग्रेसले विश्वासको मत दिनुको कारण बारेमा सोधखोज रहेको श्रोतले जानकारी दिएको छ।

कांग्रेसको विश्वासको मतसँगै प्रचण्ड सरकारसँग साना पार्टीहरूले गर्ने 'बार्गेनिङ पावर' पनि समाप्त भएको छ। गठबन्धन छाड्छौँ भनेर ब्ल्याकमेलिङ गरेर चाहेको पद लिने साना दलहरूको पुरानो प्रचलन रहेको थियो। कांग्रेसको विश्वासको मतसँगै प्रधानमन्त्रीको 'बार्गेनिङ पावर' बढेको छ।

माओवादीलाई अफठ्यारो परेको बेला कांग्रेसले साथमा राखेर गरेको सहयोगलाई माओवादीले 'पोलिटिकल जस्टिस' गर्ने कांग्रेस संस्थापन निकटको विश्वास रहेको छ। यस्तो राजनीतिक न्याय प्रचण्डले कसरी गर्छन् भन्ने प्रश्नमा कांग्रेस चुपचाप रहेको छ र त्यो न्याय के होला समयले बताउला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ