arrow

पोखरा-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
Bharat Bahadur Adhikari.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी प्रहरी हिरासतमा परेका छन् । 

वडाध्यक्ष अधिकारीमाथि सार्वजनिक कार्यक्रममा सोही वडाका दलित महिला वडासदस्य मैया नेपालीलाई जातीय दुर्व्यवहार गरेको अरोप लागेको छ । 

यस सम्बन्धमा कास्की प्रहरीमा उजुरी परेपछि उनी प्रहरी हिरासतमा परेका हुन् । कास्की प्रहरीबाट बोलावटपछि वडाध्यक्ष अधिकारी मंगलबार बिहान आफै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

त्यसलगत्तै प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो । 

प्रहरीले उनी विरुद्ध जातीय छुवाछुत तथा भेदभाव विरुद्धको मुद्धामा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको कास्की प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । 

पोखरा नगरसभामा विरोध

दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । 

पोखरा महानगरपालिकाको १२औँ नगरसभामा दलित समुदायका जनप्रतिनिधिले वडाध्यक्ष अधिकारीले आफ्नै वडासदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगरसभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालोपट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका थिए । उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् ।

समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताए । उनले उक्त दुर्व्यवहारको घटना भत्सर्नायोग्य रहेको भन्दै पीडितले न्याय र पीडिकले सजाय पाउनुपर्ने धारणा राखे ।

यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडासदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केहीबेर नगरसभा प्रभावित बनेको थियो । आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै वडासदस्य नेपालीले दिएको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष अधिकारीमाथि अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ