arrow

दुई डीआईजी अनियमिततामा तानिए, उपाध्याय र खाँविरुद्ध छानबिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
dig-upadhaya-khan.jpg

काठमाडौं । लुम्बिनी प्रदेश र मधेस प्रदेशका डीआईजीद्वयविरुद्ध गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आर्थिक चलखेल गरेको र भन्सार कार्यालयहरुसँग मिलेर राजश्व छली गरेका सामानहरु ल्याउन सहयोग गरेको आरोपसहित दुवैविरुद्ध उजुरी परेको हो । 

सो उजुरीमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने जनाएको छ । विगतमा पनि विवादास्पद छवि भएका दुई डीआईजीहरु एआईजी बढुवाका लागि भन्दै आर्थिक चलखेलमा लागेको र उनीहरुले मातहत निकायका जुनियर अधिकृतहरुसँग पनि आर्थिक लाभ लिने गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ । 

उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले लुम्बिनी र मधेस प्रदेशका डीआईजीविरुद्ध छानबिन थालेको हो । लुम्बिनी प्रदेशका डीआईजी नलप्रसाद उपाध्याय र मधेसका डीआईजी मसाउद आलम खाँका विरुद्ध उजुरी परेपछि उनीहरुको विषयमा छानबिन थालिएको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।  

‘दुई डीआईजी महानिरीक्षकको सचिवालय र गृह मन्त्रालयमा उजुरी परेको छ । मन्त्रालयले सत्य के हो भनेर प्रहरी प्रधान कार्यालयलाई लेखी पठाउन भनेको छ । ती उजुरीलाई लिएर प्रहरी प्रधान कार्यालयले सूक्ष्म अनुसन्धान गरिरहेको छ’, महानिरीक्षक सचिवालयमा रहेका एक प्रहरी अधिकारीले भने । 

डीआईजी उपाध्यायले लुम्बिनी प्रदेशका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएरै आर्थिक सहयोग गर्न आग्रह गरेको र नगरेमा कार्यालय प्रमुखका रुपमा दिइने नम्बर घटाउने चेतावनी दिएको स्रोतको दाबी छ ।  

त्यस्तै अर्का डीआईजी खाँले भन्सार प्रशासन र सशस्त्र प्रहरीसँग मिलेर आर्थिक लाभ लिने गरेको उजुरी परेको छ । 

उनीहरु दुवैलाई प्रहरी प्रधान कार्यालयले एक पटक चेतावनी दिए पनि नरोकिएपछि छानबिन शुरु गरेको हो । 

यस्तै सीमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । 

कार्यक्षमतमा निकै कमजोर मानिएका एसपी कँडेल यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा विभागीय कारबाहीमा परिसकेका छन् । 

तर गम्भीर घटना भए पनि त्यतिबेला राजनीतिक संरक्षणमा सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिबेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाइएको हो ।  

दुई साताअघि उनले पैसा असुलेको आरोपमा दुईजना सादा पोशाकमा कार्यरत प्रहरीलाई पक्राउ गरेका थिए । 

पछि लुम्बिनी प्रदेशका डीआईजी उपाध्यायको आदेश भन्दै उनीहरूलाई कारबाही नै नगरी छाडेका थिए । 

सादा पोशाकमा प्रहरी खटाएर मिलेमतोमा एसपीले नै तस्करी गराउँदै आएको आधार भेटिएपछि उनीमाथि विस्तृत छानबिन अघि बढेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
 
तीन साताअघि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । 

उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको थियो ।  एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।  

यता सर्लाहीस्थित इलाका प्रहरी कार्यालय केशेरगन्ज सर्लाहीका निरीक्षक रोशन थापा कारबाहीमा परेका छन्  । 

लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ  । साथै इप्रकाबाटसमेत हटाइएको छ । 

उनीमाथि थप छानबिन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ‘थापाले लागूऔषध तस्करलाई छाडेको पुष्टि भएपछि उनीमाथि कारबाही अघि बढाइएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ