arrow

वित्तीय समावेशिताका लागि बैङ्किङ क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री दाहाल (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
pm-prachanda-global-ime-merge-2023-2079.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा वित्तीय समावेशिता कायम गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

काठमाडौँमा आज आयोजित ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डु लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै समुदायमा बैङ्किङ पहुँचका लागि पहल गरेर वित्तीय समावेशीकरणको आधारशिला तयार गर्न सकिने बताए। अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नतिजामुखी काम गर्नुपर्नेमा पनि प्रधानमन्त्री दाहालले जोड दिए।

“मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्ने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्रसँगको समन्वय र सहकार्य गर्ने गरी अघि बढेका छौँ”, प्रधानमन्त्री दाहालले भने। बैङ्क तथा वित्तीय वित्तीय संस्थाले मर्जरमार्फत आफ्नो वित्तीय अवस्था बलियो बनाउँदा ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा हट्ने उनको भनाइ छ । सँगसँगै सर्वसाधारण सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राखिनुपर्ने प्रधानमन्त्री दाहालले बताए।

विप्रेषणको कारोबारलाई भरपर्दो र सुरक्षित बनाउन बैङ्किङ क्षेत्रको ठूलो भूमिका रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले ठूला परियोजनामा मात्र नभएर नवीनतम प्रणाली प्रयोग गरेर आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका लागिसमेत यस क्षेत्रले योगदान गर्नु जरुरी रहेको बताए।

मुख्यसचिव शङ्करदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको बताए। पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले निजी क्षेत्रमा अन्यौलता छाएको र कतिपय समस्या देखिएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रको मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताउनुभयो । “अहिले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिन थालिसकेका छन्। निजी क्षेत्र सशङ्कित हुनुपर्ने भयावह स्थिति छैन । सरकारको प्राथमिकतामा निजी क्षेत्र छ”, मुख्यसचिव वैरागीले भने।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा उनीहरूको सञ्चालन खर्च बढेको र अस्वास्थ्य प्रतिस्पर्धासमेत बढेकाले मर्जरको नीतिमा जोड दिइएको बताए। राष्ट्र बैङ्कको मर्जर नीतिबाट बैङ्किङ क्षेत्रमा उल्लेख्य सुधार हुनुका साथै वित्तीय मध्यस्थताको लागतसमेत घटेको उनको भनाइ छ।

“धेरै संस्था हुँदा सञ्चालन खर्च बढी देखिएको, अस्वस्थ प्रतिस्पर्धा बढेकोलगायतका समस्या थिए। बैङ्क वित्तीय संस्थाको सङ्ख्या घट्दा उनीहरू थप स्वस्थ र सुरक्षित हुनेछन्”, गभर्नर अधिकारीले भने। अब बैङ्क तथा वित्तीय संस्था स्वनियमनमा बढी केन्द्रित हुनुपर्ने र सानो आकारका कर्जा लाईसमेत प्राथमिकतामा राखेर राष्ट्रिय उत्पादन वृद्धिमा लाग्नुपर्ने पनि उनको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले खस्किँदो अवस्थामा रहेको मुलुकको अर्थतन्त्र  सुधारका लागि सरकार र राष्ट्र बैङ्कले मुख्य गरी तीन वटा विषयमा ध्यान पुर्‍याउनुपर्ने बताए। “पहिलो, सरकारी खर्च बढ्नुपर्‍यो। दोस्रो, मौद्रिक नीति कसिलो मात्र नभई लगानीको व्यावसायिक जोखिम समेतलाई हेरेर लचिलो हुनुपर्छ । तेस्रो, निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाइनुपर्छ”, गोल्छाले भने।

सरकारको विकास खर्च नबढेसम्म अर्थतन्त्रमा सकारात्मक प्रभाव नदेखिने उनको भनाइ छ। बैङ्क वित्तीय संस्था अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै अध्यक्ष गोल्छाले बैङ्कले गर्ने नाफालाई उनीहरूको लगानीसँग पनि जोडेर हेर्नुपर्ने धारणा राखे।

सोही कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिले निजी क्षेत्रले सरकार र राष्ट्र बैङ्कसँग ब्याजदर घट्ने र तरलता सहज होस् भन्ने अपेक्षा राखेको बताए। “ठूलो बैङ्क बन्नु भनेको ठूलो जिम्मेवारी पनि हो। अब ब्याजदरमा कमी ल्याउन सकियो भने उद्योगी व्यवसायीलाई सहज हुन्छ। तरलता सहज भएको बेला उत्पादनशील क्षेत्रमा लगानीका लागि पहल गरिनुपर्छ”, अग्रवालले भने। बैङ्क वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउँदा राष्ट्रिय पुँजी निर्माणमा सहयोग हुने र सरकारले पनि लक्षित राजस्व प्राप्त गर्ने उनको भनाइ छ।

एकीकृत कारोबारको शुभारम्भमा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैङ्क तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैङ्क बन्न सफल भएको बताए।

“हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैङ्क र छ वटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो। ग्लोबल बैङ्क अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैङ्क भएको छ”, ढकालले भने।
बैङ्क अफ काठमाण्डुसँग एकीकृत कारोबार सुरु भएसँगै ग्लोबल आइएमई बैङ्कको कूल पुँजी कोष ५७ अर्ब, कूल निक्षेप चार खर्ब १० अर्ब, कूल कर्जा चार खर्ब, कूल सम्पत्ति पाँच खर्ब र एक हजार एक सय शाखा सञ्जाल रहेका छन्। नेपालभित्र सबै जिल्लासहित तीन वटा वैदेशिक सम्पर्क कार्यालय रहेको पनि बैङ्कले जनाएको छ।

SAVE_20230109_100229.jpg
SAVE_20230109_094748.jpg
SAVE_20230109_100122.jpg
SAVE_20230109_100309.jpg
SAVE_20230109_100115.jpg
SAVE_20230109_100141.jpg
SAVE_20230109_100316.jpg
IMG-2053.jpg
IMG-2062.jpg
IMG-1913.jpg
IMG-1966.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ