arrow

राहदानी वितरण बन्द भएपछि प्रधानमन्त्री कार्यालयको फेरि अर्को निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
prachanda-pm-final-always.jpg

काठमाडौं। ‘सिस्टम’मा समस्या आएको भन्दै राहदानी विभागले मङ्गलवारदेखि राहदानी वितरणको काम रोकेको छ । सेवाग्राहीले राहदानी लिन निकै ठुलो सास्ती खेप्नु परेको गुनासो बढिरहेका अवस्थामा विभागले राहदानी वितरण रोक्दा झनै आलोचना भएको छ । 

विभागले अर्को सूचना नभएसम्म राहदानी दिन नसक्ने जनाएपछि त्यसतर्फ सरकारले चासो व्यक्त गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिपुरेश्वरस्थित विभागको प्राविधिक शाखाको निरीक्षण गरेको छ । टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टोलीसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए । 

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोलीले सम्झौताअनुसार सम्बन्धित कम्पनीले समस्या हल नगरेको र कम्पनीका कारण जनताले सास्ती भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल समस्या हल गर्न निर्देशन दिएको उनले बताए । 

“यसका लागि कम्पनीको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिइएको छ”, उनले भने । प्रधानमन्त्री कार्यालयले सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका लागि तत्काल कार्य योजना बनाउनसमेत निर्देशन दिएको छ । 

विभागले मङ्गलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको जनाएको थियो । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा प्रवाह रोकिएको छ । 
विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सर्वसाधारणलाई भनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलवार सेवाग्राहीको चाप भएका कार्यालयमा एक महिनाभित्र सहजरुपमा सेवा लिने अवस्था बनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ