arrow

बेलौरीमा प्रहरीले समात्यो हतियारधारी डकैत समूह, यसरी भयो प्रहरी अप्रेशन

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७९ पुष १६ शनिबार
daka-samuha-kanchanpur.jpg

कञ्चनपुर । कञ्चनपुरको बेलौरीका सीमा क्षेत्रमा श्रृंखलाबद्ध डकैती गर्दै आएको भारतीय डाँकाको समूहलाई पक्राउ गर्न  नेपाल प्रहरी सफल भएको छ । बेलौरी नगरपालिका १ का सीमावर्ती गाउँहरुमा श्रृंखलाबद्ध डकैती गर्दै आएका भारतको लखिमपुर खिरी जिल्लाको मिलौली बस्ने वर्ष ३२ का राजु इद्रिशी, वर्ष २७ का मुजिवा बन्जारा र वर्ष ४२ का युसुफ अलीलाई  प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।

उनीहरुलाई बेलौरी नगरपालिका १ बैशाखा गाउँबाट एक थान कटुवा पेस्तोल र ७ राउन्ड गोलीका साथ प्रहरीले पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

बेलौरी क्षेत्रमा डकैतीको घटना बढ्न गएपछि प्रहरीले शान्ति सुरक्षा दरिलो पार्न गस्ती बढाएसँगै शुक्रबार राति १ जना र शनिबार बिहान २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।

लगातार उक्त गिरोहद्वारा बेलौरीका सीमावर्ती क्षेत्रमा लुटपात मच्चाउन थाले पछि प्रहरीले विशेष रुपमा गस्ती बढाएको थियो । सोही गस्तीका क्रममा शुक्रबार राति बैशाखा गाउँमा राजु इन्द्रीसी लाई पक्राउ गरेपछि शनिबार बिहान थप दुई जनालाई उखुबारीमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । 

यसरी समात्यो डकैत प्रहरीले ?
करिब रातको १ बजे २०२ नम्बर सीमा स्तम्भ  नजिकबाट तीन जना अपरिचित व्यक्तिहरु नेपाल प्रवेश गरेको प्रहरीले टाढैबाट देख्यो । प्रहरी टोलीले उनीहरुलाई पछ्यायो । पिछा गर्ने क्रममा करिब १ः३० बजेतिर एक जनालाई सडक किनाराको नालीमा लडेको अवस्थामा पक्राउ गर्यो । 

उनी थिए भारतीय नागरिक राजु इद्रिशी ।

प्रहरीले उनको साथबाट पहिचान खुल्ने भारतीय नागरिकता (आधार कार्ड), एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ७ राउन्ड गोली बरामद गरेको छ । इद्रिशीलाई राति नै इलाका प्रहरी कार्यालय बेलौरी ल्याइयो ।

उनले आफूसँग आएका अन्य दुई जना व्यक्ति नजिकैको उखुबारीमा लुकेको सूचना दिए । त्यतिबेलासम्म स्थानीय पनि जम्मा भइसकेका थिए । उनीहरु निकै आक्रोशित देखिन्थे ।

त्यसपछि प्रहरी र स्थानीय भारतीय डाकुको खोजीमा जुटेका थिए । उनीहरुले मध्यरात उखुबारीमा घेरा हाले । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट थप प्रहरी बल मगाइयो । सशस्त्र प्रहरी बलको थापाचोकस्थित बीओपीबाट पनि थप जनशक्ति थपिए ।

डाकुहरुलाई समात्न तयार थिए, प्रहरी र स्थानीय । राति साढे १ बजेदेखि बिहान ७ बजेसम्म उखुबारी घेराउ गरिरहे । करिब ७ घण्टापछि बिहान ७ः३० बजेको समयमा उखुबारीभित्र लुकिरहेका थप २ जना पक्राउ परे । पक्राउ पर्ने तीनै जना भारतीय नागरिक भएको खुल्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ