arrow

प्रचण्डको सरकार बनेकै अर्को दिन कांग्रेस सांसद गुरुङको सांसद पद निलम्बन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १२ मंगलबार
tek-bahadur-gurung-manag-mp-2079-2022.jpg
तस्बिर – फाइल ।
काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको दोस्रो दिनमै कांग्रेसका सांसद निलम्बनमा परेका हुन् । नागरिकता विवादमा अदालतमा मुद्दा चलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने गृहमन्त्रीको जिम्मेवारी तोकिएको छ ।संघीय संसदका महासचिव डा भरतराज गौतमले अख्तियारको पत्र आएकाले गुरुङलाई निलम्बन गरिएको जनाएका छन् । 

गौतम तिनै महासचिव हुन् जसले संसद सकिएसँगै महाभियोगको आरोपमा निलम्बनका परेका तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगको आरोपबाटै आफ्नै तजबिजीले मुक्त गरिदिएका थिए । 

तर पछि उनले सर्वोच्च अदालतलाई स्पष्टीकरण दिनुपरेको थियो । 

यस्तो छ गौतमले जारी गरेको विज्ञप्ति–

विज्ञप्ति –

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ निर्वाचित हुनु भएका माननीय टेकबहादुर गुरुङ्ग (ना. प्र. प. नं. २५४६ । ८१८६ । ३६४ । काठमाडौं) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा (०७५–०१६८० मिति २०७५–१०–२१ मा दायर भई विचाराधीन अवस्थामा रहेको र “भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्था बमोजिम यस ऐन अन्तर्गतको कसुरको आरोपको सम्बन्धमा कुनै व्यक्तिउपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिब कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था रहेको छ भने ऐ. ऐनको दफा ३३ मा निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको पाइन्छ । प्रतिनिधि सभाका सदस्य सार्वजनिक पद धारण गरेको व्यक्ति र राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९को दफा २ (घ) ले स्पष्ट पारेको अवस्था छ । अतः प्रतिनिधि सभाका सदस्य टेकबहादुर गुरुङ उपरको मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेकोमा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखि पठाउने“ भनि उक्त आयोगबाट मिति २०७९–९–८ मा निर्णय भएको व्यहोरा उल्लेख गरि आयोगको प।सं। ०७९–०८०, च.नं.२७८२७, मिति २०७१–०९–०८ को पत्र यस सचिवालयमा प्राप्त हुन आएकोले प्रतिनिधि सभाका माननीय सदस्य श्री टेकबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम २०७१र०९र०८ देखि स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ ।

डा. भरतराज गौतम
संघीय संसदको महासचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ