arrow

गणितमा गगन पराजित भए पनि राजनीति जिते

logo
खगेन्द्र सिंह,
प्रकाशित २०७९ पुष ७ बिहिबार
khagendra-singh-article.jpg

भारतको अहिलेको सत्ताधारी पार्टी भारतीय जनता पार्टीमा थुप्रै अग्रज र दिग्गज नेता छन् । तर त्यो पार्टीको केन्द्रीय समितिमा कुनै पनि पदाधिकारी नभएको, नबनेको नेता नरेन्द्र मोदी सर्वस्वीकार्य भएरै प्रधानमन्त्री बन्दै दोस्रो कार्यकाल सफलतापूर्वक मुलुक हाँकिरहेका छन् । गुजरातको मुख्यमन्त्री भएर सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरे लगत्तै उनलाई पार्टीले सिधै प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्यो । 

भारतीय कंग्रेसले परिवारवादको आरोप खेपिरहेका बेला मोदी त्यहाँका जनताका लागि नयाँ र आशामुखी अनुहार देखिए । उनीप्रतिको पब्लिक क्रेज, उनको वाक्कला, उनको कूटनीति, हरेक पुस्तासँगको सम्पर्क लगायतका गुणले उनलाई मिडियाले पनि निरन्तर चर्चामा राख्यो । उनी आज पनि विश्वका चर्चित राजनीतिज्ञ मध्येकै सूचीमा छन् । उनको यो चर्चा उनको क्षमताले आर्जन गरेको हो । उनकै पार्टीका अध्यक्ष अमित शाहको भन्दा मोदीको व्यक्तित्व धेरै प्रभावशाली छ ।

पार्टी चलाउने कुरोमा मोदीले कहिल्यै हस्तक्षेप गर्नै चाहेनन् । उनले प्रधानमन्त्री पनि मै, अध्यक्ष पनि मै भनेको भए सायद त्यहाँ पनि केही अप्ठेरो हुन्थ्यो होला । उनलाई आफ्नो शक्ति स्थापित गर्न सभापति या अध्यक्ष नै हुन परेन । त्यति मात्रै नभएर पोर्टफोलियोमा उनीभन्दा अग्रज नेता शाह उनकै सरकारमा गृहमन्त्री भएर साथ दिए । त्यहाँ उनले मोदीको मन्त्री भएर काम गरे । त्यसैले होला अहिले भारतमा भाजपाको सरकार लगातार बनिरहेको छ । अझै केही वर्ष भाजपालाई प्रतिपक्ष बनाउन अन्य दललाई गाह्रै हुनेछ ।

अब हाम्रो देशको पार्टी नेपाली कांग्रेसको सन्दर्भमा भन्नुपर्दा हिजो १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई आफ्नै अठोटले मात्रै नभएर देउवाको विकल्पमा अर्को उत्तम उम्मेदवार को हुनसक्छ ...? भन्दा देशभरबाट कार्यकर्ताले जोडबल गरेको कारण पनि उनी सभापति लड्ने मनस्थितिमा पुगे । त्योबेला उनकै समूहका अग्रज नेता रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह लगायतले शेखरलाई सहजै स्वीकार गर्न नसक्नुको एउटै कारण यही सिनियर, जुनियरको भ्रम थियो । जसले आज कांग्रेसलाई पुनः अपडेट हुनबाट रोक्यो ।

यो बेला नेता शेखर कोइरालाले अन्तिममा आफू अमित शाह बनेर गगनलाई मोदीको रूपमा प्रस्तुत गर्ने जुन त्याग र आँट गरे यसको समीक्षा इतिहासले पछिसम्म गर्नेछ । नेता डा. शेखर कोइरालाप्रति हार्दिक सम्मान । गगन थापालाई हार्दिक शुभकामना । समयको मागको सम्बोधन यो भन्दा उत्कृष्ट अर्को हुनै सक्दैन । तर पुनः शेरबहादुर देउवा नै पार्टीको दलको नेताको रूपमा निर्वाचित भएका छन् ।  उनलाई हार्दिक बधाई छ । 

अमेरिकामा राष्ट्रपतिको चुनावमा दुई कार्यकाल भन्दा बढी जत्ति नै राम्रो काम गरेको भए पनि पुनः दोहोरिन नपाउने व्यवस्था छ । यदि अमेरिकामा दोहोरिन पाउने भए बाराक ओबामा तेस्रो कार्यकाल पनि सायद भारी मतले निर्वाचित हुन्थे । हाम्रोमा पटकपटक सत्ता र मौका पाएको नेता असफल हुँदा पनि दोहोरिने अवसर पाउँछ । सायद यहाँ ओबामा नभएर होला देशले देउवाहरू नै खोजिरहेको छ ।

देउवा आफंैलाई पनि के थाहा छ भने उनलाई अब धेरै कुरो गर्न सक्दिन, उमेरले पनि थकित छु भन्ने भाव आएको छ । उनलाई वयस्कमा सबैभन्दा बलियो बाउसे तपाईं नै हो, हिँड्नुस्, हिँड्नुस् भनेर हिँडाउनेहरूका लागि उनी निरन्तर सत्तामा टिकिरहनुपर्ने बाध्यता छ । 

परिवारलाई समय दिनुस्, आराम गर्नुस् भो अब धेरै तनाव नलिनुस् भनेर पारिवारिक स्नेह देखाउनु पर्ने उनकी जीवनसाथी आरजू देउवा राणा देउवालाई हुकुमको एक्काकै रूपमा प्रयोग गर्न निरन्तर पदमा नै टिकाउन जोडबल गरिरहन्छिन् । खैर जे होला देउवाको हाउभाउ, उनको सार्वजनिक सक्रियताले नै यो पुष्टि गरेको छ कि उनी थकित छन् । उनी आराम चाहन्छन् तर उनलाई बस्नै दिइएको छैन ।

गगन थापाले नै १४ औँ महाधिवेशनका बेला आफैँले भने, ‘मलाई कार्यकर्ताले यो पटक जसरी पनि महामन्त्री बनाउने हो उत्ताउलो भएर सभापति लड्नु नभन्नु ।’  उनी त्यसै अनुसार महामन्त्री लडे र निर्वाचित पनि भए ।

आज गगन थापालाई प्रधानमन्त्री उठ्नुपर्छ , आउनुपर्छ भन्ने पनि तिनै व्यक्तिहरू हुन् जो हिजो उनलाई महामन्त्री आउनुपर्छ भन्दै थिए । हिजो त्यसो भन्नेहरू कार्यकर्ता हुने आज प्रधानमन्त्री हुनुपर्छ भन्नेहरूको भीड हुने हो भने भीडले देउवालाई सधैँ अस्वीकार गरेको छ । 

गगन थापाले २५ मत प्राप्त गरे । त्यो मत फगत २५ जनाको होइन देशका २५ वटा प्रतिनिधि सभाका हजारौँ मतदाताबाट छानिएर आएका प्रतिनिधिका मत हुन् । ठीक त्यसैगरी देउवाले पाएको ६४ मत पनि त्यही नै हो । यसर्थ परिणामलाई सहज बुझ्न सक्नुपर्दछ । गणितले गगन उपविजेता भएपनि आज पुनः राजनीति जितेका छन् ।

विद्रोही गगनले आफ्नै विद्रोहकै ताकतमा महाधिवेशनमा आफ्नो समूह भित्रका आफ्ना पुस्तालाईसमेत स्थापित गर्न सफल भए । त्योबेला गगनको समूहभन्दा बाहिरबाट प्रतिस्पर्धा गरेका पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई उनले आफ्नो समर्थकका रूपमा दुनियाँका सामु उभ्याइदिए । 

गगन आज पनि सफल भए । उनले पार्टीको महामन्त्री भएर संसदीय दलको नेतामा प्रतिस्पर्धा गरे । उनी आज दलको नेता नभए पनि महामन्त्री यथावत् हुन् । अब आन्तरिक लडाइँ लड्न उनको त्यो मैदान कसैले खोस्न सक्दैन । 

गगनले आफूले जनताका अगाडि बोलेको बाचा पूरा गरेका छन् । एउटा राजनीतिज्ञमा आफ्नो वचन पूरा गर्ने आँट हुनुपर्छ । गगनले त्यो आँट गरेका छन् । उनले देउवालाई टक्कर दिने पार्टीमा कोही छ भन्ने सन्देश दिन सफल भएका छन् । 

अब देउवा पछाडि पुनः पार्टी र मुलुकको नेतृत्व हत्याउन खोज्ने प्रकाशशरण, रामचन्द्र, आरजूहरुले आगामी दिनमा गगनको सामना गर्नुपर्नेछ । त्योबेला गगन अहिलेका देउवाभन्दा निकै शक्तिशाली र सौर्यवान् नेतृत्व कहलिने छन् । त्यही सुन्दर समयको पर्खाइमा रहनेछु । (लेखक नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका महासचिव हुन्)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ