arrow

के शेखर कोइराला प्रधानमन्त्री बन्न योग्य छैनन् र ?

logo
सुजन बञ्जारा, 
प्रकाशित २०७९ पुष २ शनिबार
sujan-banzara-article-shekhar koirala.jpg

बहुमत प्राप्त गर्न नसके पनि यस पटकको निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै बनेको छ । प्राप्त जनादेश र अहिलेको सत्तागठबन्धन कायम रहँदा सरकारको नेतृत्व गर्ने अवसर पनि कांग्रेसलाई नै छ । तर कांग्रेसभित्र अहिले प्रधानमन्त्रीको आकांक्षा राख्नेहरुको संख्या आधा दर्जन पुगिसकेको छ । 

अहिलेसम्म प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइरालासहित पार्टीको १४ औं महाधिवेशनमा कोइराला प्यानलबाटै महामन्त्रीमा विजयी गगनकुमार थापालेसमेत प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्दै आएका छन् । प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्ने कांग्रेसको विधानमा छ । 

यी नामहरुमध्ये डा. कोइराला प्रधानमन्त्रीको आकांक्षी मात्र होइन बलियो दाबेदार पनि हुन । १४ औं महाधिवेशनमा कोइराला परिवारबाटै पार्टी सभापतिको एक्ला उम्मेदवार उनी नै थिए । महाधिवेशनमा सभापतिमा कोइरालाई साथ दिएकाहरुले यो पटक प्रधानमन्त्री बनाउन पनि कोइरालालाई नै साथ दिनुपर्ने आवाज उठिरहेको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्न सकिएन तर अब संसदीय दलको निर्वाचनमार्फत मुलुककै भविष्य बदल्न पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बदल्न आवश्यक देखिएको आवाज पनि सुनिँदैछ । त्यो कांग्रेसका लागि मात्र होइन सिंगो राष्ट्रकै लागि हितकर हुन सक्छ । 

चुनावदेखि चुनावको गोलचक्रले गर्दा कांग्रेस पार्टी निकै कमजोर बनिसकेको तथ्य त निर्वाचनले पनि देखाएकै छ । कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ, सच्चिनपर्छ, देश विकास हुनुपर्छ भन्ने भनाइ धेरैजसोको छ । त्यसका लागि पाका र नयाँ दुवै पुस्ताको आशा डा.कोइराला भएको तथ्य त पार्टीको महाधिवेशनबाट प्राप्त कार्यकर्ताहरुको मतले बताइसकेको छ । 

अहिले पार्टी कार्यकर्ता र आमनागरिकलाई एउटा भरोसा चाहिएको छ । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्यसंयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि समक्ष तर परीक्षण हुन बाँकी पात्र हुन् कोइराला । यसको अर्थ इतर समूहबाट गगन र अन्य नेताहरु सक्षम छैनन् भन्न खोजिएको होइन । इतर समूह बलियो बनाउन, डा. कोइरालाको स्प्रिट र क्षमताको सम्मानका लागि पनि उनलाई प्रधानमन्त्रीका रुपमा अघि बढाउँदा न्याय नै हुन्छ । अन्य आकांक्षीहरुको पनि स्वीकार्य रहन्छ । 

आर्थिक असमानता र गरिबीलगायत शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार हुन नसक्दा नागरिकमा कांग्रेसप्रति निकै वितृष्णा छ । यो वितृष्णालाई हटाउन र कांग्रेसमा समक्ष नेतृत्व पनि छ जसले मुलुकको विकास समृद्धिको मोडल तय गर्न सक्छ भन्ने सन्देश प्रवाह गर्दै पार्टीलाई जीवन्त राखिराख्न पनि अब कांग्रेसबाट प्रधानमन्त्रीमा देउवाको उपयुक्त विकल्प शेखर नै हुन् । 

देउवाका हालसम्मका कार्यकाल आहा ! भन्न लायक छैनन् । आफ्नो सचिवालय र सल्लाहकारहरुको घेराबन्दीबाट माथि उठ्न नसक्दा देउवा प्रधानमन्त्रीका लागि त्यति सान्दर्भिक लाग्दैनन् । पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाबाट उनका आसेपासे बाहेक अरु कसको के अपेक्षा छ ? अबको पाँच वर्ष नै प्रधानमन्त्रीको जिम्मेवारी सुम्पने हो भने उनको भिजन र मिसन के हो ? उनी पाँच पटकसम्म प्रधानमन्त्री बन्दा मुलुकले के पायो ? ‘किन चाउरिस मरिच आफ्नै पिरोले’ भने जस्तै कांग्रेस आज किन कमजोर बन्दै गएको छ भन्दा पदमा बसिरहन पर्ने तर जनता र देशको पक्षमा केही गर्नै नपर्ने देउवा जस्तै नेतृत्वको शैलीले हो । 

अहिले नै हेरौं भर्खरै मात्र नागरिकले अलि विश्वास गरेर के ठूलो दल बनाइदिएका छन् अध्यादेशको तरबार चलाउन थालिसकेका छन् । यसले जनतामा कांग्रेसप्रति कस्तो सन्देश प्रवाह गर्छ ? देउवा शैलीकै कारण कांग्रेस मात्र होइन देशनै भड्खालोमा जाँदैछ । त्यसकारण अब उनलाई पार्टीकै काममा लगाऔं, उनलाई झक्झकाउने युवापुस्ता प्रशस्तै छ । मुलुकको बागडोर सम्हाले अभिभारा कांग्रेसबाट देउवाको विकल्प खोजौं त्यसको उपयुक्त पात्र शेखर कोइराला नै हुन् । 

महाधिवेशनको समयमा पार्टीको नेतृत्वको विकल्प खोजेर हिँड्ने  गगन, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डेले यो पटक प्रधानमन्त्रीको पटक पटक जिम्मेवारी सम्हालिसकेका शेरबहादुरको विकल्पका एक ठाउँमा उभिन आवश्यक छ । 

‘भाइ फुटे गँवार लुटे’ भनेजस्तै गगन, रामचन्द्र सबैले मुलुकको हितलाई शिरोपर गर्दै यो पटक संसदीय दलमा शेखर कोइरालाई निस्वार्थ सहयोग गर्नु नै अहिलेको आवश्यकता हो । हामी सुध्रियौँ, कांग्रेसलाई बलियो बनायौं, कांग्रेसको नेतृत्वमा उदाहरणीय काम गर्न सक्यौँ भने प्रधानमन्त्री, मन्त्री बन्ने अवसर जनताले पटक पटक दिन्छन् ।

होइन सबै आ–आफ्नै तालमा हिँड्ने हो र देउवाशैलीको विरोध गर्न नसक्ने हो भने न हामी रहन्छौँ न कांग्रेस रहन्छ । न हामी मन्त्री र प्रधानमन्त्री बनेर देशहितमा काम गर्ने जनादेश नै प्राप्त गर्छौं । त्यसैले अब मुलुकले र कांग्रेसले परिवर्तन खोजेको छ । यथास्थितिबाट मुलुक चल्दैन । (बञ्जारा नेविसंघका नेता हुन्)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ