काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुलाएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ।
बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।