arrow

भीम रावलकै कारण अछाम २ मा पुष्प उत्साही, यज्ञ अप्ठेरोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
pushpa-shah-yagyabahadur-bogati-accham2.jpg

अछाम । प्रतिनिधि सभातर्फ अछाम–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पुष्प शाह र नेकपा एमालेका यज्ञबहादुर बोगटीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । 

अछामको मंगलसेन निवासी शाह र बोगटीबीच दोस्रो पटक भिडन्त हुन लागेको हो । यस क्षेत्रमा राप्रपाका मीनबहादुर शाही र नेमकिपाका झंकरबहादुर शाही पनि मैदानमा छन् । 

कांग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर कांग्रेस जिल्ला सभापति शाह र एमाले केन्द्रीय सदस्य बोगटीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 

शाह २०३६ सालमा कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिमा जोडिएका थिए । नेपाल ल क्याम्पस र कञ्चनपुरबाट नेविसंघको राजनीतिमा सक्रिय भए ।

२०४० सालमा काठमाडौँबाट अछाम फर्किएपछि वकालत पेशा थाले । सोही समयमा शाह जिल्ला बार इकाईको दुई कार्यकाल अध्यक्ष बने । 

२०४९ सालबाट शाह कांग्रेसको जिल्ला कार्यसमिति सदस्य भएर बनेर औपचारिक रूपमा पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएपछि पार्टीले उनलाई कोषाध्यक्ष बनाएको थियो । २०५३ मा पार्टीको महाधिवेशन प्रतिनिधि र २०५४ मा जिल्ला सचिव भएर काम गरेका उनले त्यसयता निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित बने ।

२०६७ सालमा भएको कांग्रेसको बाह्रौँ महाधिवेशनका क्रममा उनी कांग्रेस अछामको सभापति निर्वाचित भए । ०७८ मा भएको चौधौं महाधिवेशनका क्रममा शाह पुनः सभापतिमा निर्वाचित भए ।

यता बोगटीले पनि अछाम बहुमुखी क्याम्पसमा एमालेका भ्रातृसंस्था अनेरास्ववियुबाटै राजनीति शुरु गरेका थिए । उनी २०४९ मा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य भएका उनी अनेरास्ववियुमा जिल्ला संयोजक, राष्ट्रिय परिषद् सदस्य र केन्द्रीय कमिटी सदस्य भए ।

त्यसपछि उनी पार्टीको जिल्ला कमिटीको सदस्य भए भने २०६५ बाट २०७४ सम्म उनी जिल्ला कमिटी सचिव बने । संसदीय राजनीतिमा ०७४ मा निर्वाचनमा पहिलो प्रयासमै सफल भए । हाल उनी एमाले केन्द्रीय कमिटी सदस्य छन् ।
चुनाव जितेका एमालेका बोगटी अहिले एक्लै तालेमल गरेर चुनावी मैदानमा छन् । तर ०७४ को चुनावी सहयात्री माओवादी केन्द्र कांग्रेसको साथमा छ भने एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि कांग्रेसलाई सहयोग गरेको अवस्था छ । 

कम्युनिस्टकै साथमा उनी २३ वर्षपछि कम्युनिस्टकै किल्ला बनेका अछाम २ मा कांग्रेसको झण्डा गाड्न तम्सिएका छन् । तर एमालेका बोगटी अछाम–२ मा एमालेलाई जितमा ह्याट्रिक दिलाउने रणनीतिमा छन् । अछाम–१ मा भीम रावलले टिकट नपाएपछि एमालेमा देखिएको असन्तुष्टि पनि बोगटीका लागि अर्को चुनौती हो ।

कांग्रेसका बागी उम्मेदवारले राहतको महसुस गरेको एमालेका लागि गठबन्धन र भीम रावल फ्याक्टर चुनौतीको पहाड बन्ने देखिन्छ । अछाममा डा. भीमबहादुर रावल विरोधी खेमाको नेतृत्व गरेका बोगटीलाई रावल समर्थकको साथ बिना चुनाव जित्न असम्भवजस्तै छ । 

भीम रावलको छत्रछायाँमा राजनीति गरेका बोगटी पछिल्लो समय विपक्ष कित्ताको नेतृत्व गर्न पुगेका छन् । रावललाई टिकट दिन नहुने अभियानमा बोगटीले पनि भूमिका खेलेको एमाले अछाममा चर्चा छ । 

‘एमालेलाई भीम रावल चाहिँदैन भने हामीलाई एमाले पनि चाहिँदैन’ भन्ने अछाममा रावल समर्थकको स्वर सुनिन्छ ।

अछाम–२ मा गत बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार कांग्रेस पहिलो दल बनेको छ । 

कांग्रेसले १९ हजार ३३९, एमालेले १७ हजार ९८७, माओवादीको ६ हजार ४४१ र एकीकृत समाजवादीको २ हजार १७५ मत छ । जसका आधारमा कांग्रेसका शाह बोगटीभन्दा ९ हजार ९९६८ मतले अघि देखिन्छन् । वडा अध्यक्ष भने कांग्रेसको भन्दा एमालेले बढी जितेको छ । 

४९ वडामध्ये एमालेले २२ कांग्रेसले २१, माओवादी केन्द्रले २ र एकीकृत समाजवादीले ३ वडा र स्वतन्त्रले एक वडामा जितेका छन् ।

जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा प्रमुख र उपप्रमुखसहित १० वडा एमालेले जितेको छ भने कांग्रेसले ४ वडा जितेको छ । 

मंगलसैन निवासी कांग्रेस जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाको बागी उम्मेदवारीका कारण यहाँ एमालेले यहाँ लिड गर्ने देखिन्छ । स्थानीय निर्वाचनमा चुनावी तालमेलका बाबजुद मंगलसेनमा कमजोर देखिएको कांग्रेसका लागि ढुंगानाको विद्रोहले एमालेलाई राहत मिल्ने छ ।

पञ्चदेवल विनायकमा कांग्रेसले राम्रो मत प्राप्त गर्ने स्थानीय तह निर्वाचनको आँकडाले देखाउँछ । यहाँ कांग्रेसले मेयर–उपमेयरसहित ६ वडा, एमालेले १, माओवादी केन्द्रले १ र समाजवादीले एक वडा जितेको छ । 

तर क्षेत्रमा माओवादीभित्रको टिकट वितरणले गठबन्धनमै असर पर्ने नेताहरूमा चिन्ता देखिन्छ । प्रदेशसभाको टिकट अक्कल रावललाई दिएपछि माओवादीका नेता शरदसिंह भण्डारी चुनावमा निष्क्रिय बनेको अवस्था छ । 

पूर्व सांसद भण्डारी गठबन्धनका पक्षमा खुलेर नलागेपछि विनायक क्षेत्रको माओवादी मत तलमाथि हुन सक्ने गठबन्धनभित्र आशंका बढेको छ ।

त्यस्तै कमलबजार नगरपालिकामा शाह र बोगटीबीच कडा टक्कर हुने छ । कमलबजारका १० वडामध्ये प्रमुखसहित कांग्रेसले २, उपप्रमुखसहित एमालेले ७ र १ वडामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए ।

ढकारी गाउँपालिकाबाट राम्रो मत प्राप्त गर्ने कांग्रेसको विश्वास छ । यहाँ कांग्रेससँगै एकीकृत समाजवादीको पनि निर्णायक मत छ । ढकारीमा अध्यक्ष र उपाध्यक्षसहित कांग्रेसले ४, एमालेले २, एकीकृत समाजवादीले २ वडा जितेको छ । 

तुर्माखाँद गाउँपालिकाका ८ वडामध्ये अध्यक्ष र उपाध्यक्षसहित एमालेले २ वडा जितेको छ । तुर्माखाँद गुमाएको कांग्रेसले ५ वडा र माओवादी केन्द्रले १ वडा जितेको छ । यहाँ पनि एमालेभन्दा कांग्रेस अगाडि हुने देखिन्छ ।

माओवादीको मतले कांग्रेसले फराकिलो लिड गर्न मद्दत पुग्ने देखिन्छ । यस पटक चुनाव जित्नेमा शाह पनि विश्वस्त देखिन्छन् । उनले भने, ‘गठबन्धनका साथीहरू चुनावी रणनीति बलियो बनाएर अगाडि बढिरहेका छौँ । यसपालि सफल हुन्छु ।’

तर गठबन्धनले चुनावी नतिजामा आफूलाई अप्ठ्यारो नपार्ने बोगटीको विश्वास छ । आफूले सांसदका रूपमा पहल गरेर अछाम–२ भएका विकासकै कारण सहज चुनाव जित्ने उनको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ