सांसद भएपछि तलब सुविधासमेत नलिने डा सुनील शर्माको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
2.5k
Shares
विराटनगर । संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार डा. सुनील शर्माले आफू प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिने घोषणा गरेका छन् ।
निर्वाचन अभियानका क्रममा आयोजिक कोणसभालाई संबोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार शर्माले आफू समाज र राष्ट्रलाई दिनका लागि मात्र उम्मेद्वार भएको र सांसद भएपछि पनि लिने भन्दा यो समाज र राष्ट्रलाइ के बढी दिन सकिन्छ आफ्नो ध्यान त्यसमा बढी भएको बताएका छन् ।
भ्रष्टाचार गर्नु वा घुस खानु आफ्ना लागि आमाको रगत खाएसमान हुने भन्दै शर्माले राज्यकोषबाट कुनै सुविधा नलिएर काम गर्ने घोषण गरेका हुन् । यसअघि जनताले जिताएका धेरै जनप्रतिनिधि घुस खान र भ्रष्टाचार गर्न लागेका कारण जनचाहना पूरा हुन नसकेको शर्माको भनाइ थियो ।
शर्माले भने, ‘कसरी घुस खाने, कसरी भ्रष्टाचार गर्ने भन्नेतिर ध्यान भएकाहरु निर्वाचित भएपछि कसरी हुन्छ देश र समाजको विकास ? त्यसैले म प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएपछि राज्यबाट पाउने तलब सुविधासमेत नलिएर केवल जनताको सेवा र विकास निमार्णमा ध्यान दिनेछु ।’
‘यो निर्वाचन भ्रष्टाचार गर्ने र नगर्नेहरु बीचको लडाइ हो । अब सर्वभौम जनताले कसलाई सांसद बनाउने फैसला गर्नुपर्छ’, शर्माले भने । आज देशले भोगिरहेका अधिकांश समस्याको मुल कारण भ्रष्टाचार भएको भन्दै भ्रष्ट राजनीतिक नेतृत्वलाई पराजित गर्न पनि शर्माले सबैलाई आग्रह गरे ।
‘यहाँ जनता रोग र भोकले छट्पटाइ रहेका बेला पनि कमिशन खानेहरु छन् । तिनैले देश बर्बाद पारे । अब जनताको हातमा फैसला गर्ने बेला आएको छ । जनता सबैभन्दा ठूला न्यायाधीश भएकाले अब जनताले भ्रष्टहरुलाई चोट दिएर आफूलाई भोट गर्नुपर्छ’, नेपाली कांग्रेसका नेतासमेत रहेका शर्माले भने ।
संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेद्वार डा शर्माले यतिबेला चुनावी घरदैलो र कोणसभा अभियानलाई तीव्र पारेका छन् ।