arrow

निर्वाचन आयोगलाई भारतले दियो असी स्कार्पियो गाडी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १७ बिहिबार
nepal-india-vehicle-election-commission.jpg

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा स्कार्पियो गाडी प्रदान गरेको छ । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारीसाधनको साङ्केतिक साँचो हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताए । 

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै उनले भारत सरकारले विभिन्न समयमा दिएको सवारीसाधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागि धन्यवाद ज्ञापन गरे । 

राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले उक्त सहयोग प्रदान गरेको बताए । छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुशीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारीसाधनकै हिस्साको रुपमा यी ८० वटा सवारीसाधन रहेको भारतीय दूतावासले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ