arrow

गगन थापा सर्लाहीबाट चुनाव लड्ने भएसँगै मधेस गद्गद्, मन्त्री सिंह भन्छन् – सबैभन्दा फराकिलो अन्तरले जिताउँछौं 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २२ शनिबार
birendra-prasad-singh-gagan-thapa.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सर्लाही ४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएपछि मधेसमा कांग्रेसी नेताहरुमा खुशीयाली छाएको छ । उनको स्वागतका लागिसमेत विशेष तयारी गरिएको छ । 

मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंहले गगन थापालाई भव्य स्वागतको तयारी भइरहेको बताउँदै भने, ‘उहाँलाई भव्य स्वागतको तयारी भइरहेको छ । भोलिको नोमिनेसनले नै हाम्रो अब कस्तो मतान्तरले उहाँ विजय हुनुहुन्छ भन्ने देखाउँछ ।’

गगन सर्लाहीबाट चुनाव लड्ने भएपछि सिङ्गो मधेस नै उत्साही भएको मन्त्री सिंहले बताए । उनले भने, ‘एकदम हाम्रो प्रदेश नै उत्साही भएको हो । त्यस्तो राष्ट्रिय स्तरका नेता पाउनु हाम्रो लागि एउटा सुखद कुरा हो । त्यसले गर्दा यहाँका सम्पूर्ण हामी उत्साही भएका छौं ।’

मन्त्री सिंहले गगन थापाले नेपालकै सबैभन्दा फराकिलो अन्तरले विजयी हुने दाबीसमेत गरे । उनले भने, ‘मैले त भन्छु नेपालकै सबैभन्दा बढी मत ल्याएर मतान्तरले गगन थापाजी निर्वाचित हुनुहुन्छ भन्ने हामीले आशा राखेका छौं ।’

उनले कांग्रेस र गठबन्धनले मात्र नभइ सबै युवाले गगन थापालाई भोट हाल्ने दाबीसमेत गरे । हाम्राकुरासँग उनले भने, ‘कांग्रेस र गठबन्धनले मात्र हैन कि एउटा युवामा ठूलो उत्साह थपिएको छ उहाँको आगमनले गर्दा । त्यसैले उहाँको विजय त निश्चित छ ।’

गगन थापा भोलि बिहान आउँदै गरेको भनेर आफूलाई सम्पर्क गरेको उनले बताए । मन्त्री सिंहले भने, ‘मलाई पनि भन्नुभएको छ । आउँदै हुनुहुन्छ नि । अब भोलि नोमिनेसन छ । आज नभनेर त यत्रो तयारी कसरी गर्याछौं ?’

उनले उम्मेदवारी दर्ताको दिन आइतबारको कार्यक्रमबारे भने, ‘भोलि उहाँ आउनु हुन्छ । १० बजेतिर पुग्नुहुन्छ । दिउँसो २ देखि ३ बजेसम्म हाम्रो नोमिनेसनको टाइम छ निर्वाचन आयोगले दिएको । अनि हामी गठबन्धनका तीन वटै उम्मेदवार संयुक्त रुपमा हामी गएर त्यहाँ नोमिनेसन गर्छौं । त्यसपछि अन्य कार्यक्रमहरु तय हुन्छन् ।’

कांग्रेस नेता सिंहले आफू फेरि पनि प्रदेशमै उम्मेदवारी दिने बताएका छन् । गगन थापा मधेसमा गएसँगै हेभिवेटकाे चुनाव विशेष हुने अपेक्षासमेत गरिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ