arrow

कास्कीकोट दरबारमा दशैं 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १२ बुधबार
dashain.jpg

कास्की । पोखरा महानगरपालिका-२४ स्थित कास्कीकोट दरबारमा ऐतिहासिक दशैं उत्सव शुरु भएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पक्ष (दुर्गा पक्ष) का अवसरमा विशेष पूजाआजा हुने प्राचीन प्रचलनअनुरूप उक्त समयलाई नवदुर्गा उत्सवका रूपमा मनाउने गरिएको छ । 

यस समयमा तान्त्रिक र वैदिकरूपमा गुप्तकालिका मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालिकाको पूजा गर्ने प्रचलन छ ।

दशैंकै अवसरमा लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिए । उत्सवका अवसरमा कास्कीकोटमा दशैंको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल, तरबार एवं तोपहरूको पनि प्रदर्शन गरिने उनले जानकारी दिए ।

‘संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग गरौँ’ भन्ने नारासहित दशैं उत्सव गर्न लागिएको गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिले जनाएको छ ।

कास्कीकोट दरबारमा घटस्थापनाको दिन विधिवत् मन्दिरमा प्रवेश गरिन्छ । सप्तमीको दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र कुँवर जातिको सरुङ खेलसँगै मन्दिरमा भित्र्याउने प्रचलन छ ।
    
अष्टमीका दिन राति कालरात्रिको पूजा, नवमीका दिन पञ्चबलि र दशमीको दिन गुप्तकालिका मन्दिरमा टीका लगाउने र विधिवत् रूपमा फूल बास्पानीमा लगेर विसर्जन गर्ने प्रचलन रहेको त्रिपाठीले जानकारी दिए ।

दशैंका दश दिन दैनिक विभिन्न देवीको पूजा हुने गुप्तकालीको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यस समयमा पोखरासहित विभिन्न स्थानबाट यहाँ भाकलसहित पूजाआजा एवं पञ्चबलिका लागि दर्शनार्थी आउने गर्दछन् ।

लामो समयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थीले दर्शनसमेत गर्न नपाएको अवस्थामा पूजालाई व्यवस्थित बनाउन पोखरा-२४ वडा कार्यालयले कास्कीकोट दरबारलाई आर्थिक सहयोगसँगै प्रवद्र्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरतबहादुर अधिकारीले बताए । 



नयाँ