यी हुन् एमालेका प्रत्यक्षतर्फका भीम रावल सहितका ५६ एकल सर्वसम्मत सिफारिस उम्मेदवार
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
3.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । समानुपातिकको बन्द सूची पेश गर्नुअघि सत्तागठबन्धन दलले सिट बाँडफाँटको कामलाई रोकेका छन् । उनीहरु आफ्नो पार्टीको समानुपातिक उम्मेदवार छान्न व्यस्त रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीहरु समानुपातिक उम्मेदवार छनोट गर्ने चरणमा प्रवेश गर्दा एमाले भने प्रत्यक्षकै निर्वाचन प्रचार प्रसारमा लागिसकेको छ ।
समानुपातिक उम्मेदवारको ‘सर्ट लिष्ट’ बनाउन लागि परे पनि प्रत्यक्षतर्फ पनि करिब ५६ जना उम्मेदवार सर्वसम्मत सिफारिस गरेर छनोट चरणमा प्रवेश गरेको हो । ‘एमाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार छनोटको चरणमा प्रवेश गरेको छ’, एमालेका पोलिटव्यूरो सदस्य ठाकुर गैरेले भने ।
उनकाअनुसार समानुपातिकमा भने क्षेत्र र संख्याभन्दा धेरै बढी सिफारिस भए पनि एमालेले पहिलो चरणमा ‘सर्ट लिष्ट’ बनाएर उम्मेदवार छनोट गर्ने भएको छ । तर प्रत्यक्षतर्फको ५६ सिटमा भने एमालेलाई सहज भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेबाट ५६ नेता सर्वसम्मत उम्मेदवार हुने भएका छन् । जिल्ला कमिटीबाटै माथिल्लो तहमा सर्वसम्मत सिफारिस भएका ५६ जनालाई केन्द्रले पनि सर्वसम्मत अनुमोदन गर्ने भएको हो ।
केन्द्रले जिल्लाको सिफारिस अनुमोदन गर्ने सम्भावना बढेपछि उनीहरू आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् । समानुपातिकमा करिब ३ हजार नेताहरु सिफारिसमा परेपछि नेताहरु अचम्मित परेका छन् ।
नेताहरुले त्यो संख्या शुरुमै छनोट गरेर निर्वाचनमा आयोगमा पठाउने भएको छ । यसरी विभिन्न जिल्ला कमिटीबाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएकामा पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका नेता छन् । ५६ जनामा कतिपय पहिलोपटक सिफारिस भएका हुन् ।
ओलीलाई झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । उनी यसअघि पनि सर्वसम्मत सिफारिसमा परेका थिए । अध्यक्ष ओलीका अतिरिक्त पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
यसैगरी उपाध्यक्षद्वय सुवासचन्द्र नेम्वाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट र विष्णु पौडेल रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
नेम्वाङ र पौडेल यसअघि पनि ती क्षेत्रबाट निरन्तर रुपमा चुनाव जित्ने नेताहरु हुन । महासचिव शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । उनी यसअघि प्रदेशबाट चुनाव जितेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।
यसपटक पोखरेल र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराबीच प्रतिस्पर्धा हुने सम्भावना छ । त्यसैगरी एमालेका पूर्व उपाध्यक्ष भीमबहादुर रावल अछाम १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।
रावल आफैंले अहिलेसम्म निर्वाचन लड्ने घोषणा गरिसकेका छैनन् । एकल रूपमा सिफारिस भएका नेताहरू अहिले आ–आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील हुन थालेका छन् ।
उनीहरूले काठमाडौंमा क्रियाशील रहेका सम्पर्क मञ्च र अन्य संगठनलाई पनि परिचालन गर्न थालेका छन् । निर्वाचन आयोगले दशैं सकिएसँगै उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसअघि नै पार्टीहरूले सबै उम्मेदवारको नाम टुंग्याइसक्नुपर्ने अवस्था छ । एमालेले प्रायः सर्वसम्मत भएका र नभएकाको पनि नाम छनोट गरी उम्मेदवार तय गर्नेछ ।
एमाले सचिवालय र स्थायी कमिटी बैठकले उम्मेदवारको नाम तय गर्नेछ । अहिले सिफारिसमा परेका नेताको अवस्थाबारे जानकारी लिने काम भइरहेको एमाले स्रोतले जनाएको छ । सर्वसम्मत भएकामध्ये कतिपय नेताहरु पहिलो पटक निर्वाचनमा भाग लिँदै छन् ।
सर्वसम्मत रुपमा सिफारिसमा परेकामध्ये एमालेबाट पहिलो पटक निर्वाचनमा भाग लिँदैछन् । पाल्पा २ बाट ठाकुर गैरे, प्यूठानबाट सूर्य थापा, रुपन्देहीबाट खिमलाल भट्टराई, मानवीर राईले पहिलो पटक निर्वाचन फेस गर्दैछन् ।
त्यसैगरी काठमाडौंबाट मणिराम फुयाल, चितवनबाट रामप्रसाद न्यौपाने, डोल्पाबाट बम्दी क्वाँरा बोहोरा, जुम्लाबाट रतननाथ योगी पहिलो पटक डेब्य् गर्दैछन् । एमालेभित्र धेरै नेताहरुले यसपटक डेब्यु गर्ने तयारीमा रहेका छन् ।
सिफारिसमा परेका तर सर्वसम्मत नभएका नेताहरुमा दैलेखबाट विष्णु रिजाल, गुल्मी २ बाट राजेन्द्र अर्याल, कैलाली १ बाट द्धारिका न्यौपाने, बझाङबाट ऐन महर, रामेछापबाट माधव ढुंगेल लगयातका नेताहरु डेब्युको तयारीमा रहेका छन् । यद्यपि उनीहरुले टिकट पाउने नपाउने विषयमा अझै निचोडमा पुगेको छैन ।