तीन दिन भित्र चोलेन्द्रविरुद्धका प्रमाण पेश गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
662
Shares
काठमाडौं । तीन दिन भित्र निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध का प्रमाण, कागजात तथा जानकारी उपलब्ध गराउन संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले सूचना जारी गरेको छ । निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन समितिले गोरखापत्रमा सूचना जारी गरेको हो ।
'महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ ।' सूचनामा उल्लेख छ ।
जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको समितिले जानकारी माग गरेको हो । समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाएको छ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको छ ।