मेरो भनाइलाई कसैले च्यालेन्ज गर्छ भने इन्टरनेशनल छानबिन गरौँ
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
901
Shares
काठमाडौं ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटी बैठक तथा प्रशिक्षणमा अध्यक्ष ओलीले समितिले निष्पक्ष छानबिन नगरेको भन्दै इन्टरनेसनल छानबिन गर्न भनेका छन् ।
शुक्रवार छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको थियो । प्रतिवेदनमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई क्लिन चिट दिएको छ । ओलीले आफूहरूले निष्पक्ष छानबिन गर्न खोजे पनि नदिइएको सुनाए । 'बजेट निर्माण गर्दा राष्ट्रको ढुकुटीमारा काम आपराधिक काम भएकै हो । निष्पक्ष छानबिन गर्न खोज्यौँ । तर दिइएन । मेरो भनाइलाई कसैले च्यालेन्ज गर्छ भने इन्टरनेसनल छानबिन गरौँ'
ओलीले कमिसन खाएर करका दर हेरफेर गरिएको आरोप लगाए । उनले कल डिटेल समेत हेर्न नदिएको बताए । ओलीले फुटेज किन डिलिट गरियो भनी सोधेका छन् । उनले भने, 'फुटेज किन डिलिट गरियो, किन छैन भनियो ? कल डिटेल हेरौँ न भन्दा हेर्नु हुँदैन, हेर्यो भने त फेला परिहाल्छ नि भनेर हेर्न दिएनन् ।'
संसदीय छानबिन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । गत असार २२ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन गरिने घोषणा गरेका थिए ।
समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुषाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए । ओलीले बहुमतको आधारमा समिति गठन भएको समेत आरोप लगाएका छन् ।
ओलीले २० वर्षमा अरूले गर्न नसकेको काम एमाले सरकारले गरेको दाबी समेत गरे । उनले भने,' हामीले यति धेरै काम गरेका छौं । २० वर्षमा अरूले गर्न नसकेको काम हामीले गरेका छौं । '
ओलीले गत निर्वाचनमा एमालेले विरोधीहरूले फिँजाएका भ्रमहरू खण्डन गर्न नसकेको बताउँदै आगामी निर्वाचनमा उक्त कमी रहन दिन नहुने बताए ।