arrow

धितोपत्र बोर्ड अध्यक्ष हमालसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन भ्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३ मंगलबार
nepal-india-dhitopatra-board-team-2079-03-29.jpg

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल नेतृत्वको टोलीले भारतीय पुँजी बजारको अध्ययन भ्रमण गरेको छ । नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणा गत असार २७ देखि ३१ गतेसम्म भएको अध्ययन भ्रमणमा कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक कृष्णराज पोखरेल र कामु उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा सहितको टोली सहभागी रहेको थियो । 

भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस (एन.आइ.एस.एम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल भएको बोर्डले जनाएको छ । 

भारतीय धितोपत्र बजारको नियमन निकाय सेबीकी अध्यक्ष माधवी पुरी बुच तथा बोर्ड अध्यक्ष हमालबीच शिष्टाचार भेटघाट तथा द्धिपक्षीय सहयोग आदान प्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्षबीच आगामी दिनमा यी निकायहरु बीच दीर्घकालीन सहकार्य स्थापित गरी अगाडि बढने प्रतिवद्धता गरिएको छ । 

साथै नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको उत्कृष्ट व्यवहारिक तथा अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिवृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाईन सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिवृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भएको छ । 

नेपाली टोलीले बी.एस.ई.का प्रमुख कार्यकारी अधिकृत आशिषकुमार चौहानसहितको उच्च पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको थियो । 

सो क्रममा बीएसईका प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको भनाइ राखेका थिए । त्यस्तै वित्तीय साक्षरता अभिवृृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एनआईएसएमको भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारी रुपमा वित्तीय साक्षरता अभिवृद्धिका लागि सेबोनद्वारा नेपालमा स्थापना गरिने पुँजी बजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको थियो । 

यस भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानूनी व्यवस्था, नियामकीय प्रविधिको विकासका साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्नका लागि खेल्नु पर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिवेक्षण के कसरी गर्नुपर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बोर्डका सहायक प्रवक्ता तेजप्रसाद देवकोटाले जारी गरेको विज्ञप्तिमा समग्रमा यस भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा गरिएको उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ