arrow

बेलायतको प्रधानमन्त्रीका दाबेदार भारतीय मूलका ऋषि सुनक को हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
rishi-sunak-uk-british.jpg

काठमाडौं । बेलायतका पूर्व कुलपति ऋषि सुनकले शुक्रबार (जुलाई ८) मा बेलायतको आगामी प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको लिडर बन्ने घोषणा गरेका छन् । बेलायतको प्रधानमन्त्री बन्ने आफ्नो अभियानलाई उनले सामाजिक सञ्जालमा एक भिडियो जारी गर्दै शुरु गरेका छन् ।

भिडियोकै शुरुमा उनले आफ्नो भारतीय मुल स्पष्ट खुलाएका छन् र उनले आफ्नो परिवार नै सबै कुरा भएको बताएका छन् ।

भारतीय मूलका टोरी नेता सुनकले  'विश्वास पुनर्स्थापित गर्न, अर्थतन्त्रको पुनर्निर्माण र देशलाई पुनर्मिलन' गर्न चाहेको बताउँदै 'देशभक्ति, निष्पक्षता, कडा परिश्रम'को पुरानो कन्जरभेटिभ मान्यताहरुमा जोड दिएका छन् ।

बेलायतमा विगतको एक साता राजीनितक उथलपुथलपूर्ण रहेको थियो । प्रधानमन्त्री बोरिस जोनसनविरुद्धको विद्रोहले एक हप्तामा ६० भन्दा बढी मन्त्री एवं सहयोगीहरुले राजीनामा दिएका थिए । 

जुलाई ५ मा दुई वरिष्ठ मन्त्री ऋषि सुनक र साजिद जाविदले अचानक मन्त्रिपरिषद्बाट राजीनामा दिएसँगै राजीनामाको लहर सुरु भएको थियो ।

र अन्तत: जोनसनले समेत बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

कोषाध्यक्ष अथवा अर्थमन्त्री पदबाट राजीना दिँदै लेखेको पत्रमा सुनकले भनेका छन्, 'जनताले अधिकारपूर्णरुपमा सरकार सही, सक्षम र गम्भीरताका साथ सञ्चालनकोअपेक्षा गर्छ। मलाई लाग्छ कि यी मापदण्डहरूको लागि लड्न आवश्यक छ र त्यसैले म राजीनामा गर्दैछु।'

को हुन् ऋषि सुनक?

४२ वर्षीय सुनककाे जन्म बेलायतको साउथह्याम्प्टनमा भारतीय मूलका आमाबुवाबाट भएको थियो। उनका बुबा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)का सामान्य चिकित्सक थिए र उनकी आमाले स्थानीय फार्मेसी चलाउँदै आएकी थिइन् ।

ऋषि सुनकका हजुरबा र हजुरआमा पञ्जाबमा जन्मेका हुन् । सन् १९६० मा बेलायत सर्नुअघि सुनकका हजुरआमा र हजुरबुवा पूर्वी अफ्रिकामा बसाइ सरेका थिए । त्यहाँ उनीहरूले प्रशासनिक जागिरमा काम गरेका थिए ।

सुनकले कुलीन निजी विद्यालय विन्चेस्टर कलेजमा अध्ययन गरेका थिए । त्यसपछि अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालय गएका उनले एमबीएसँगै प्रतिष्ठित फुलब्राइट छात्रवृत्ति पाएका थिए ।

उनीसँग गोल्डम्यान साक्स र विभिन्न हेज फन्डहरूमा लगानी गरेको अनुभव छ । सन् २००९ मा सुनकले इन्फोसिस कम्पनीका मालिक अर्बपति नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए ।

ऋषि सुनकको राजनीतिक करियर

सन् २०१५ मा रिचमण्ड योर्कशायरबाट कन्जरभेटिभ सांसद निर्वाचित भएसँगै सुनकको राजनीतिक जीवन शुरु भएको थियो।

पूर्व बेलायती प्रधानमन्त्री थेरेसा मेको सरकारमा कनिष्ठ मन्त्री भएसँगै ब्रेक्सिटको प्रारम्भिक समर्थक सुनकको करियरमा कायापलट भएको थियो । 

सन् २०१९ मा बोरिस जोनसनको टोरी नेतृत्वको चुनावलाई समर्थन गरेका सुनकले त्यसै वर्ष बेलायतका अर्थमन्त्री बनेका थिए।

सन् २०२० को फेब्रुअरीमा मन्त्रिपरिषद् पुनर्गठनसँगै सुनक चान्सलर बनेका थिए । यो पद मन्त्री श्रेणीमा उपप्रधानमन्त्री र प्रधानमन्त्रीपछिको तेस्रो नम्बरमा पर्छ ।

विश्वभर कोरोना भाइरसको महामारी र बेलायतमा लकडाउनका बेला उनको नवनिर्वाचित कुलपतिको हैसियतले कठिन चुनौतीको सामना गर्नुपरेको थियो। 

युकेका नागरिकहरूलाई मद्दत गर्न जे गर्न सकिन्छ गर्ने वाचा गर्दै उनले ३५० अर्ब पाउण्डको वित्तीय उद्धार प्याकेज सुरु गरेका थए । जसले उनको व्यक्तिगत पोल रेटिङमा ठूलो वृद्धि गरेको थियो भने बेरोजगारीलाई जोगाएको भन्दै उनको ठूलो प्रशंसा गरिएको थियो ।

ऋषि सुनकको नीतिको आलोचना

कन्जर्भेटिभ पार्टीबाट छोटो समयमै ठूलो उचाइमा पुग्न सफल सुनकले चान्सलर रहँदा विपक्षी र जनताबाट आलोचनासमेत खेप्नु पर्याे ।

कोभिड१९ लकडाउनमा घरपरिवारलाई पर्याप्त आर्थिक सहयोग नगरेको भन्दै उनको आलोचना भएको छ । यस्तै सन् २०२१ मा उनले कर सम्बन्धी ल्याएको नयाँ नीतिले बेलायतलाई ७० वर्षयताकै उच्च कर बोझमा राखेको भनेर समेत उनको आलोचना भएको थियो ।

रुस र युक्रेनबीच युद्ध हुँदा यस वर्षको गत अप्रिल सुनककै कार्यकालका बेला बेलायतले ४० वर्षयताकै उच्च मुद्रास्फीतिको सामना गरेको छ । बैंक अफ इङ्गल्याण्डको ९ प्रतिशतले बढेको उपभोक्ता मूल्य ११ प्रतिशतले बढ्न सक्ने चेतावनी दिएको छ ।

फलस्वरूप, बेलायतका विभिन्न संघहरूले उच्च तलबको लागि हडताल गरेका छन् । गत महिना बेलायतले ३० वर्षमा सबैभन्दा ठूलो रेल हडतालको सामना गरेको थियो । ४० हजार भन्दा बढी रेल कर्मचारीहरूले सामूहिक वाकआउटमा भाग लिएका थिए भने अन्यले औद्योगिक कारबाहीको चेतावनीसमेत दिएका थिए ।

ऋषि सुनकको व्यक्तिगत छवि

बेलायती राजनीतिको ‘गोल्डेन केटा’ सुनकले आफ्नी श्रीमती अक्षता मुर्तिको आर्थिक विषयमा विवाद हुँदा व्यक्तिगत घोटालाको सामना गर्नुपरेको थियो । 

सुनककी श्रीमतीको बेलायतमा गैर आवासीय स्थिति भएको र यसकारण उनले बेलायतमा कर तिर्न नपर्ने कुरा गत अप्रिलमा सार्वजनिक रुपमा आलोचना भएको थियो । लेबर पार्टीले सुनकले लाखौं बेलायती कामदारबाट कर उठाई रहेका बेला उनकी श्रीमतीको कर कटौती गर्नु साहसपूर्ण कपट भएको भन्दै आलोचना गरेको थियो ।

विवादपछि सुनककी श्रीमती अक्षता मुर्तीले बेलायतको कर तिर्न थाल्ने घोषणा गरेकी छन् ।

यस्तै सन् २०२० मा कोभिड-१९को पहिलो लकडाउनका बेला प्रधानमन्त्री बोरिस जोनसनसँग पार्टीमा सामेल भएर नियम उल्लंघन गरेको स्क्यान्डलले समेत उनको छविमा केही धक्का लगाएको थियो ।

सुनक बेलायतका प्रधानमन्त्री होलान् त ?

उनीविरुद्धको आलोचनाको बाबजुद सुनकको स्वीकृति दर उच्च रहेको सर्वेक्षणले देखाएको छ । ७१६ कन्जरभेटिभ पार्टीका सदस्यहरुमाथि युगोभले तीन दिनअघि जुलाई ७ मा प्रकाशित गरेको सर्वेक्षणमा व्यापार नीति राज्यमन्त्री पेनी मोर्डाउन्ट र रक्षा मन्त्री बेन वालेसपछि तेस्रो नम्बरमा सुनकलाई लोकप्रिय टोरी उम्मेद्वारका रुपमा मानेको छ ।

विभिन्न वरिष्ठ कन्जरभेटिभ सांसदहरूले सार्वजनिक रूपमा सुनकको उम्मेदवारीलाई समर्थन गरेका छन् र उनको ुरेडी फर ऋषिु अभियानलाई बढावा दिएका छन् । बीबीसीका अनुसार गत जुनमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिने ओलिभर डाउडेन र हाउस अफ कमन्सका नेता मार्क स्पेन्सरसमेतले सुनकलाई समर्थन गरेका छन् ।

बेलायतमा पहिलो भारतीय मूलको प्रधानमन्त्री सुनक हुनेछन् या हुने छैनन् भनेर थाहा पाउन अझैं दुईतीन महिनाको समय लाग्ने छ ।

ब्याकबेन्च टोरी सांसदको १९९२ समिति (सरकारी वा प्रतिपक्षी पदमा नरहने मन्त्रीहरू)ले आगामी हप्तामा प्रधानमन्त्रीको दौडको समयतालिका सार्वजनिक गर्नेछ।

प्रधानमन्त्रीको दौडमा भाग लिन उम्मेदवारले कम्तीमा ८ अन्य टोरी सांसदहरूको समर्थन पाएको हुनुपर्छ। 

यदि प्रधानमन्त्रीको दौडमा दुई भन्दा बढी उम्मेदवार भएमा उम्मेद्वारा संख्या दुईमा घटाउन गोप्य मतपत्रहरूको श्रृंखला सञ्चालन गरिनेछ। त्यसपछि कन्जरभेटिभ पार्टीले अन्तिम मतदान गर्नेछ र विजेता कन्जरभेटिभ पार्टीको नेता र बेलायतको प्रधानमन्त्री बन्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ