arrow

विवादित एसपीहरु अधिकांशको बढुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २६ आइतबार
police-head-Q.jpeg

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरीको एसपीबाट एसएसपीमा बढुवा सिफारिसमा विवादितहरुलाई प्राथमिकतामा राखेपछि संगठनभित्र असन्तुष्टि पैदा भएको छ । संगठनमा काबिल अधिकृतहरु हुँदाहुँदै कारबाही भोगेका अधिकृतहरुलाई प्राथमिकतामा राखेर एसएसपी बढुवाको सूची निकालेपछि असन्तुष्टि बढेको हो । 

राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका तर कार्यकालमा विवादित छवि बनाएका एसपीहरु एसएसपीमा बढुवा सिफारिस भएका छन् । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भइ २०५८ सालमा नेपाल प्रहरीमा आएका ३४ जनामध्ये २०७४ सालमा एसपी भएहरु धेरै विवादित रहेका अधिकारीहरु एसएसपीमा बढुवा सिफारिस भएका हुन् । 

२०५६ सालमा भर्ना भई नेपाल प्रहरीका काबिल रहेका अफिसरलाई छाडेर कार्यक्षेत्रमा विवाद बढाउने मात्रै होइन निलम्बन भएका, आर्थिक रुपमा विवादित बनेका अधिकृतहरुलाई बढुवा गरिएको छ । 

राअविबाट आएका भन्दा अगाडि नै प्रहरी तालिम गरेका एसपीहरू विश्व अधिकारी, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, भूपेन्द्र खत्री, सोमेन्द्रसिंह राठौर, सविन प्रधान, दिनेश मैनाली, बेलबहादुर पाण्डे, बसन्त रजौरे, गंगा पन्त लगायतलाई छाडेर उनीहरुलाई काखी च्यापिएको हो । 

प्रहरी नायव उपरीक्षक ९डीएसपी०बाट ३१ असार २०७४ मा एसपीमा बढुवा हुँदा १०औँ नम्बरसम्म राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएर आएको टोली सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, उमाप्रसाद चतुर्वेदी, ओम राना, सुरेन्द्रबहादुर गुरुङ, हिमालयकुमार श्रेष्ठ बढुवा सिफारिस भएका छन् । 

जसमध्ये शाह पहिलो नम्बरमा एसएसपीमा सिफारिस भएका छन् । उनी रौतहटको प्रहरी प्रमुख हुँदा पत्रकारको मोटरसाइकलमा प्रहरीलाई लागुऔषध राख्न लगाएर फसाएका थिए । 

उनको विषयमा छानबिन समिति बनेको थियो । तर प्रहरी प्रधानकार्यालयले त्यसमा कारबाही नगरी ललितपुर प्रहरी परिसरमा खटाएको थियो । ओमबहादुर राना बौद्ध र रसुवाको प्रमुख हुँदा रक्तचन्दन तस्करी गराएको आरोपमा निलम्बनमा परेका थिए । उनीसँगै रहेका नेपाली सेनाका एक कर्णेललाई सेवाबाट बर्खास्त गरिएको थियो । 

हाल बढुवा सिफारिसमा परेका दिलिपसिंह देउवा बारामा कार्यरत रहेका छन् । उनी केही समयअघि मदिराले मस्त भएर कार दुर्घटनामा परेका थिए । गुपचुप रुपमै केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका उनलाई सशस्त्र प्रहरीलाई हतियार तस्करीमा फसाएको आरोपसमेत लागेको छ । 

सञ्जीव दास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । सोही टोलीका एसपी मनोजकुमार यादव जिम्मेवारी निर्वाह गर्न नसकेको भनेर कपिलवस्तुबाट पाँच महिनामै हटाइएका थिए । 

धादिङ प्रहरी प्रमुखको जिम्मवारी राम्रोसँग सम्हाल्न नसकेको भन्दै एसपी डम्बर विक ५ महिनामै २०७५ माघमा जिम्मेवारीबाट हटाइएका थिए । एसपी सुरेन्द्र गुरुङले त जुवाडेबाट बरामद गरिएको पैसा नै लुकाएको पुष्टि भएको थियो । 

गत वर्षको दशैं–तिहारमा जुवाडे पक्राउ गरी उनीहरुको पैसा लुकाएको विषय छानबिनबाट पुष्टि भएपछि उनको स्थानमा शेखर खनाललाई गोरखाको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । 

अर्का विवादित पात्र एसपी शारदाप्रसाद चौधरीलाई आचारण विपरित कार्य गरेको भन्दै हटाइएको थियो ।  २०६१ सालमा गुल्मीमा रहँदा आचरण विपरीत काम गरेको भन्दै उनलाई हटाइएको थियो । 

२०६९ माघमा दैलेखमा रहँदा राम्रो भूमिका निर्वाह गर्न नसकेको भन्दै उनीसहित तीन प्रहरीको जिम्मेवारी खोसिएको थियो । अहिले यी सबै विवादित पात्रलाई नेपाल प्रहरीले बढुवामा सिफारिस गरेको छ । 

त्यस्तै टीकाबहादुर केसीले आफ्नो पेस्तोल नै हराएर कारवाहीमा परेका थिए । २०७२ पुसमा कीर्तिपुरको चाल्नाखेलमा एभरेस्ट ग्यासको रिफिलिङ सेन्टरमा प्रहरी र स्थानीयबीच झडप हुँदा उनको पेस्तोल हराएका थिए । 

उनीहरुले नेपाल प्रहरीको २०५६को व्याजभन्दा पछि २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएर प्रहरीको तालिम गरेका थिए । उनीहरुले तालिम सकेर द्वन्द्वको समयमा कठिन भन्दा कठिन कार्यमा खटिएका थिए । 

तर राअविबाट नेपाल प्रहरीमा आएकाहरु कहिल्यै पनि द्वन्द्वकालमा खटिनु परेन । उनीहरुले कमाण्ड सम्हाल्ने बेलामा द्वन्द्वकाल समाप्त भैसकेको थियो । तर पनि उनीहरुलाई सरकारले माया गरेर बढुवामा गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ