arrow

एसपीहरुकाे बढुवामा किचलो, राअवीबाट आएको बदनाम टोलीका कारण समस्या, दलीय चासोले थप दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २२ बुधबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीको रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि ५१ प्रहरी उपरीक्षक (एसपी) हरुको प्रतिस्पर्धा रहेको छ । २०५६ सालको शुरु भर्ना र  २०५८ सालमा राष्ट्रिय अनुसन्धान विभाग (राअवी) बाट प्रहरी सेवामा प्रवेश गरेकाहरुबीच एसएसपी हुनलाई प्रतिस्पर्धा शुरु भएको हो । 

तर नेपाल प्रहरीमा रहेका सिनियर एसपी र २०५६ सालमा भर्ना भएका प्रहरी अधिकारी तथा राअवीबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका बीचको लडाइँले तत्काल बढुवा नहुने अवस्था आएको छ । गठबन्धन दलका पाँच शीर्ष नेताहरुले नै एसपी बढुवामा चासो राखेका कारण तत्काल बढुवा नहुने अवस्था आएको हो । 

गठबन्धनका शीर्ष नेताहरुले नै गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब दिएर रोक्ने प्रयास भएको छ। गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिश गरेसँगै रिक्त एसएसपीका लागि दौडधूप शुरु भएको थियो । 

एसएसपी बढुवाको प्रतिस्पर्धामा २०७४ साउन १९ गते बढुवा भएका ३५ जनामध्ये ३३ जना एसपी छन् । बाँकी दुई जनाले यसअघि नै अनिवार्य अवकाश पाएका छन् ।

सो मितिमा बढुवा भएका एसपीहरुमा दानबहादुर कार्की, ईश्वर कार्की, गणेश चन्द, राजन अधिकारी, मनोजकुमार केसी, रेवती ढकाल, अरुण पौडेल, जीवन श्रेष्ठ लगायतका छन् । 

उनीहरुलाई रोक्न सक्ने संभावना छैन । उनीहरुभन्दा पछि भर्ना भएका र राअवीबाट सेवा परिवर्तन गरेका टोलीबीच को को बढुवा हुने कि नहुने भन्ने बारेमा प्रहरी प्रधान कार्यालय नै दुई ध्रुवमा बाँडिएको छ । 

२०५३ सालमा भर्ना भएर राष्ट्रिय अनुसन्धानबाट २०५८ पछि नेपाल प्रहरीमा आएर तालिम गरेका १९ जनालाई तत्काल बढुवा रोक्नुपर्ने दबाब बढेको हो । 

०५६ सालमा नेपाल प्रहरीमा भर्ना भइ उनीहरुभन्दा अघि तालिम लिएका समूहले यसलाई रोक्न दबाब दिएको हो । राअवीबाट नेपाल प्रहरीमा आएका भन्दा अघि नै तालिम गरेको र उनीहरु भन्दा प्रहरीमा सिनियर भएको नजिर देखाउँदै प्रधानमन्त्री तथा गठबन्धन दलका शीर्ष नेताहरुलाई बढुवाबारे जानकारी गराएपछि गृहमन्त्री खाँणलाई राअवीबाट आएका प्रहरी अधिकारीलाई दबाब परेको हो । 

राअवीबाट आएको केही बदनाम टोलीले बढुवाका लागि शक्ति केन्द्र धाउन थालेपछि २०५६ सालको टोलीले पनि शक्तिको प्रयोग गरेको हो । बढुवा गर्दा प्रहरी नियमावलीको नियम ३० को उपनियम २ अनुसार कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम, चूनौतीपूर्ण वा विशेष जिम्मेवारीलाई आधार मान्नुपर्ने उल्लेख छ । 

यसो गर्दा ०७५ जेठ २९ मा एसपीमा बढुवा भएकाहरु पनि पर्ने देखिन्छ । बढुवामा ज्येष्ठतालाई मात्र आधार नमानेर कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, चुनौतीपूर्ण जिम्मेवारीलाई पनि हेर्नुपर्ने र यसो गर्दा पछिल्ला ब्याजीको पनि बढुवा हुनसक्ने गृह मन्त्रालय स्रोतले बतायो । 

त्यसो त प्रहरीतर्फ भर्ना भएकाले आफूहरुले द्धन्द्धको समयमा फिल्डमा गरेको कामको अवमूल्यन हुने गरी राष्ट्रिय अनुसन्धानबाट आएकालाई अगाडि ल्याउन नहुने तर्क गर्ने गरेका छन् । यो तर्कमा गृह मन्त्रालयसमेत सकारात्मक रहेको बुझिएको छ । पछिल्ला ब्याजीहरुबाट योग्य र प्रोफेसनल अधिकृतहरुलाई एसएसपीमा बढुवा गर्दा विश्व अधिकारी, सविन प्रधान, सानुराम भट्टराई, बसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, भूपेन्द्रबहादुर खत्री, गंगा पन्त, प्रवीण पोखरेल, दीपशमशेर राणा, शेखर खनाल, अभिनारायण काफ्ले, ओम अधिकारी, दिनेश मैनाली, वेलबहादुर पाण्डे लगायतका एसपी पनि एसएसपीमा बढुवा हुन सक्ने देखिन्छ ।

तर उनीहरुलाई छाडेर राअवीबाट सेवा प्रवेश गरेकाहरुले ‘ओभरटेक’ गर्न खोजेपछि समस्या उत्पन्न भएको स्रोतको दाबी छ । बढुवा प्रतिस्पर्धामा रहेकाहरु २०७४ साउन १९ मा डीएसपीबाट एसपीमा बढुवा भएकाहरु पनि छन् । 

सिद्धिविक्रम शाह, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, मनोजकुमार यादव, लोकेन्द्र श्रेष्ठ र दीलिपसिंह देउवा प्रहरीमा ‘विवादित अधिकृत’को रुपमा चिनिन्छन् । मनोजकुमार यादव, विनोद घिमिरे, दीपककुमार बस्नेत, शारदाप्रसाद चौधरी, दीपेन्द्र जिसी, रामेश्वरप्रसाद यादव, दीलिप सिंह देउवा र सञ्जिव शर्मा दास राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा प्रवेश गरेका हुन् । 

उनीहरु पनि प्रतिस्पर्धामा रहेका छन् । देउवा हाल बारामा रहेका छन् । उनी केही समयअघि मदिराले मस्त भएर कार दुघर्टनामा परेर केही दिन नारायणी क्षेत्रीय अस्पतालमा भर्ना भएका थिए । 

सञ्जीवदास शर्माले रामेछापमा एक हत्याकाण्डलाई लुकाउन ठूलो आर्थिक चलखेल गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कारबाही गरेको थियो । ओमबहादुर राना रसुवामा प्रमुख हुँदा आर्थिक अनियमतिको आरोपमा कारबाही गरिएको थियो । 

त्यसैगरी उनी बाँकेको प्रमुख हुँदा पनि कारबाहीमा परेका थिए । गणेश चन्द पनि दाङ एसपी हुँदा विवादित बनेका थिए । सिद्धिविक्रम शाह हाल ललितपुर प्रहरी परिसरमा छन् । 

उनी रौतहटमा हुँदा पत्रकारलाई लागुऔषध राखेर फसाएको आरोपमा छानबिनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहँदा दिनेशकुमार आचार्यलाई ‘अनुसन्धानमा लापरबाही गरेको’ भन्दै कारबाही गर्न आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । 

उनी पनि बढुवाका लागि दौडधुपमा छन् । राअवीबाट आएका केदार खनाल कीर्तिपुरमा हुँदा निलम्बनमा परेका थिए । विमल बस्नेत निलम्बनमा परेका थिए भने योगबहादुर पाल अर्का बद्नाम पात्र हुन् ।

 ‘समग्रमा राअवीबाट नेपाल प्रहरीमा आएका बदनाम टोलीले शक्ति केन्द्र धाएपछि अहिलेलाई बढुवा रोक्नु उपयुक्त हुन्छ भन्ने सुझाव आएको छ’, गृमन्त्रालय स्रोतले भन्यो । 

स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणले २०५३ मा राअवीमा सेवा प्रवेश गरेका तर नेपाल प्रहरीमा २०५८ सालमा आएकाहरुलाई पनि बढुवा गर्न खोजेपछि विवाद उत्पन्न भएको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ