arrow

२० डीआईजीका लागि ३० एसएसपी प्रतिस्पर्धामा [नामावलीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १० मंगलबार
police-head-Q.jpeg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिए लगत्तै सरकारले नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरीमा एक एआईजीको सिफारिस गरेको छ । सरकारले दुवै संगठनमा रिक्त रहेका पदमा सोमबार साँझ एआईजीमा सिफारिस गरेको हो । 

सिफारिस गरेका डीआईजीहरुले अबको एक सातामा बढुवा हुनेछन् । नेपाल प्रहरीमा पाँच डीआईजीलाई एआईजीमा सिफारिस गरेसँगै २० डीआइजी पदका लागि ३० एसएसपीको प्रतिस्पर्धा शुरु भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा शुरु भएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि प्रतिस्पर्धा शुरु भएको हो । 

हाल विश्वराज पोखरेल, सहकुल थापा, रविन्द्र धानुक मात्रै एआईजी रहेका छन् । गत जेठ ६ गते बढुवा भएका एआईजी बसन्त लामा जेठ ७ गते नै उमेर हदका कारण अवकाशमा गइसकेका छन् । 

बाँकी रहेको पाँच दरबन्दीमा डीआईजीहरु उत्तम सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहलाई बढुवाका लागि सिफारिस गरिसकेको छ । उता सशस्त्र प्रहरीमा चन्द्रप्रकाश गौतमलाई एआईजीमा सिफारिस गरेको हो । गौतमा वर्तमान आईजीपी राजु अर्यालकै ब्याची हुन् । 

यता धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरिसकेका कारण एआइजी पोखरेलको पनि पद रिक्त हुने वा यथावत् भन्ने यकिन छैन । हाल बढुवाको सिफारिसमा परेका एआईजी र वर्तमान आईजीपी सिंह २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । 

३० वर्षे सेवा अवधि कायम रहेको खण्डमा उनीहरु सबै अबको ११ महिनापछि घर जानेछन् । त्यसपछि अहिले डीआईजी हुनेहरु नै आईजीपीको दावेदार रहने छन् । 

अहिले रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा छन् । उनीहरु तीन चरणमा बढुवा भएका हुन् । नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ एआईजी सहकुल थापासँगै प्रहरी निरीक्षकबाट भर्ना भएका हुन् ।  

मसउद आलम २०६९ माघ ११ गते तथा अरु दुई जना नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य २०७० साउन ४ गते एसएसपीमा बढुवा भएका हुन् ।उनीहरु २०४९ चैत ११ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनीहरु आइजीपी सिंहसँगै अवकाशमा जानेछन् ।

त्यसपछि २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएर २०७५ फागुन ६ गते एसएसपीमा बढुवा भएका दाबेदार हुन् । यो ब्याचबाट एकजना आईजीपी पनि हुने सम्भावना छ । 

बैशाख १९ गते आईजीपीको अवकाशपछि यो ब्याचबाट एक जनाले प्रहरीको नेतृत्व गर्ने सम्भावना छ । तर एक साथ तीन चरणमा भर्ना भएका र तीन चरणमै एसएसपी बढुवा भएका डीआईजी हुने सम्भावना रहेकाले यो ब्याचकै आईजीपी नियुक्त हुने निश्चित भने छैन । 

२०७५ माघमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोख्रेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल एकसाथ एसएसपीमा बढुवा भएका हुन् । 

तर यीमध्ये पनि दीपक थापा, टेकबहादुर तामाङ र भीमप्रसाद ढकाल २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । सँगै एसएसपी भएका अरुभन्दा ५ महिना पछिसम्म उनीहरु प्रहरी सेवामा रहन्छन् । 

अहिलेको अवस्था रहे उनीहरुमध्ये एक जना आईजीपी हुनेछन् । भण्डारीसहितका अन्य १० जना भने २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । यसपछि २०७७ बैशाखमा एसएसपीमा बढुवा भएका जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोख्रेल, चन्द्रकुवेर खापुङ पनि डीआईजीका प्रतिस्पर्धी हुन् । 

तर यीमध्ये १० जना भने अर्को वर्ष मात्रै डीआइजी हुनेछन् । उनीहरु पनि अहिले रिक्त रहेकै पदमा बढुवा हुन शक्तिकेन्द्रको दौडधुपमा लागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ