arrow

महङ्गी घटाउन र बलात्कारको हदम्याद हटाउन सांसदहरुको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ९ सोमबार
rastriya-sabha-2079-02-09.jpg

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको बैठकको विशेष समयमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेलले कांग्रेस नेतृत्वको सरकारले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गरे । 

नेकपा एमालेका भैरवसुन्दर श्रेष्ठले सरकारले सात महिनाको अवधिमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई महङ्गी बेहोर्न बाध्य पारेको आरोप लगाउँदै छिमेकी मुलुक भारतमा समेत सरकारले जनतालाई सहुलियत दिइरहेको बताए । 

विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका मायाप्रसाद शर्माले अहिले आम जनता महँगीको मारमा परेको जनाउँदै निर्वाचनसमेत महँगो बन्दै गएको बताए । 

उनले विगतमा भएका बलात्कारका घटनाको छानविन गर्न कानूनी हदम्यादको समस्या देखिएको भए पनि दोषीलाई कानूनी कठघरामा ल्याउनैपर्ने बताए । नेकपा एकीकृत समाजवादीकी जयन्तीदेवी राईले दिन प्रतिदिन महिला हिंसा तथा बलात्कारका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षाको माग गरिन् । 

बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानून परिमार्जन गर्नुपर्ने उहाँको माग थियो । जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले बलात्कारीलाई आजीवन सजाय हुनुपर्नेमा जोड दिइन् । 

त्यसैगरी राष्ट्रिय सभाका स्वतन्त्र सदस्य डा खिमलाल देवकोटाले बलात्कार र जघन्य अपराधमा हदम्याद हटाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका गोपालकुमार बस्नेतले राज्यले स्वच्छ र पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

एमालेका भगवती न्यौपानेले बलात्कार सम्बन्धी कानूनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने आवश्यकता औँल्याइन् । माओवादी केन्द्रका जगप्रसाद शर्माले मूल्यवृद्धि, महँगी र भ्रष्टाचार अन्त्यको माग गरे । कांग्रेसका सदस्य नारायणदत्त मिश्रले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ