arrow

संसदभित्रै एमालेबीच समन्वय भएन, प्रतिनिधि सभामा अवरोध हट्यो, राष्ट्रिय सभामा कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ३ मंगलबार
Parliament_building.png
तस्बिर– फाइल

काठमाडौं । लामो समयदेखि व्यवस्थापिका संसद्को बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अब भने नियमित रूपमा सदन चल्न दिने अवस्थामा पुगेको छ । मंगलबारदेखि शुरु भएको सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठकमा एमालेले कुनै अवरोध गरेन । एमालेले नौ महिनादेखि जारी राखेको संसद् अवरोध अबदेखि नगर्नेसमेत ठहर गरेको छ । 

बैठकको शुरुमै एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले देश नयाँ कोर्समा गएको र अर्थतन्त्रमा ठूलो सङ्कट उत्पन्न भएकाले संसद् अवरोध खोल्ने निर्णय भएको जानकारी गराए । उनले आफ्नो पार्टीका असन्तुष्टिहरु कायम रहेको उल्लेख गरे । 

देशको अर्थतन्त्रमा उत्पन्न सङ्कटबारे गम्भीर छलफल गर्न संसद् चल्नु आवश्यक रहेको स्पष्ट पारे । अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढङ्गले फैसला गरेको उनको भनाइ छ । 

“दल विभाजनका लागि जस्केलाबाट अध्यादेश ल्याउनु र उद्देश्य पूरा भएपछि फिर्ता लिनु, त्यसमा सभामुख, अदालत जस्ता संवैधानिक निकाय सहयोगी जस्तो बन्नु गलत हो”, उनले भने । 

प्रतिनिधि सभा संचालन भए पनि एमालेले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ । मंगलबार बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदहरुले आसन ग्रहण नगरी बैठकमा विरोध जनाएपछि मौनधारणा लगत्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए । 

सांसद दाहालले अघिल्लो अधिवेशन देखिनै आफूहरुले उठाउँदै आएको माग पूरा नभएको भन्दै यस अधिवेशनमा पनि आफूहरुको विरोध जारी नै रहेको सदनमा जानकारी गराएका थिए । 

उनले सरकारले सदन सञ्चालनमा रुची नदेखाएको आरोप लगाउँदै विगतमा एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना प्रकाशित गर्नुपर्ने माग कायमै हुँदा सदनको अवरोध जारी नै रहेको जानकारी गराएका थिए । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पटक पटकको आग्रहपछि पनि एमालेका सांसदहरुले उभिएर विरोध नै जनाइरहेपछि उनले कार्यसूचीलाई अघि बढाएका थिए । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा लोकतन्त्र र गणतन्त्र प्राप्तिका निम्ति ज्यान उत्सर्ग गर्ने ज्ञान अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । बैठकको शुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ