काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ। यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना त्यसै रातिदेखि सुरु भएको थियो। एमालेबाट प्रमुख पदका उम्मेदवार उद्धव विष्टले तीन हजार ६४१ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक रिसालले दुई हजार ९३८ मतका साथ पछ्याइरहेका छन्। नेकपा (एकीकृत समाजवादी)का गोपाल बरालले २४६ मत पाएका छन्।
यसै गरी उपप्रमुखमा एमालेकै सान्नानी लामाले तीन हजार ४८३, काँग्रेसका शान्ति नेपालले दुई हजार ७९९ र नेकपा माओवादी केन्द्रका पेमाछिरि शेर्पाले ६०६ मत पाउनुभएको छ। नगरपालिकाको १, २ र ३ गरी तीन वडाको मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिए।
तीनै वडामा एमालेले वडाध्यक्षसहित प्यानलमा विजयी भएको छ। वडा नं १ मा द्वारिका श्रेष्ठ, वडा नं २ मा मधु तामाङ र वडा नं ३ मा मुरारी कुइँकेलको समूह नै विजयी भएको छ। अहिले नगरपालिकाको ४ नं वडाको मतगणना भइरहेको छ। नारायणटारस्थित चामुण्डा माध्यमिक विद्यालय भवनमा मतगणना भइरहेको हो। स्थान अभावका कारण एक पटकमा एउटा मात्र वडाको मतगणना सम्भव भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए।
गोकर्णेश्वर नगरपालिकामा २४ हजार २४२ मत खसेको छ। यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो। नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ। वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको थियो।