arrow

एक्लै जितेर काम गर्न असहज हुन्छ टीमलाई नै जिताऔं – प्रकाशमान सिंह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २७ मंगलबार
prakashman-rajendra-ghanashyam.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनमा आफ्नो टिमलाई जिताउन लाग्न सबैलाई आग्रह गरेका छन् । मंगलबार बिहान चन्द्रागिरी नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सिंहले आफूलाई मात्रै नभएर सबै आफ्नो टिमका उम्मेदवारहरुलाई भोट माग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

‘यो बहुदल अन्तर्गतको चुनाव हो’ उनको भनाइ छ, ‘यहाँ टिमलाई भोट माग्ने काम गर्नुपर्‍यो । वडाध्यक्षहरुले आफ्नो वडासदस्य, मेयर र उपमेयरलाई भोट मागेर अगाडि जानुपर्छ ।’ 

चन्द्रागिरीमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । प्रमुखमा कांग्रेसबाट घनश्याम गिरी र उपप्रमुखमा राष्ट्रिय जनमोर्चाबाट रोसन दानी उम्मेदवार छन् ।

नेता सिंहले एक्लै जितेर मात्रै काम गर्न असहज हुने भएकाले टिम नै जिताउने गरी लाग्नु पर्नेसमेत बताए । उनले भने,  ‘३० गते आफ्नो टिम, मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यलाई जिताउने गरी प्रचार–प्रसार गर्नुभयो भने राम्रो हुन्छ ।’

गठबन्धन किन भन्ने बुझ्न आवश्यक भएको भन्दै सिंहले नेपाली कांग्रेसले सबैलाई मिलाएर संविधान सभाबाट संविधान जारी गरेको स्मरण गर्न समेत आग्रह गरे।
    
‘गठबन्धन किन भयो भन्ने कुरा बुझ्न आवश्यक छ।  हामी सबैले याद गरौं, प्रथम संविधासभाबाट जारी गर्न नसकेको संविधान दोस्रो संविधानसभाबाट कांग्रेसको नेतृत्वमा सबैलाई समन्वय गरेर २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको हो नि’ भन्दै नेता सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक संविधान र ब्यवस्थामाथि प्रहार गरेकाले संविधान र ब्यवस्था जोगाउन गठबन्धन गर्नुपर्ने बाध्यता रहेको कुरा बुझ्नसमेत आग्रह गरे । 

उनी भन्छन्, ‘अब हामी सबै एक भएर कांग्रेसका उमेदवारहरु जिताऊँ । त्यसो भयो भने ब्यवस्था जोगिन्छ । संविधान सही बाटोबाट हिँडाउन सकिन्छ । आउने संघीय र प्रान्तीय निर्वाचन जित्न कांग्रेसलाई सहज हुने भएकाले सबैको ध्यान केन्द्रीत गर्नसमेत आग्रह गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ