arrow

यस्तो छ आईजीपी धीरजप्रताप सिंहको विगत

प्रहरीभित्र अनुशासित र स्वच्छ छवि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
dhiraj-pratap-singh-ipg.jpg
तस्बिर– फाइल

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्त गरेको हो । 

आइतबारबाट आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएपछि चार एआईजी मध्येबाट सरकारले सिंहलाई नियुक्त गरेको हो । 
 
सिंह १२ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर सरकारले सिंहलाई नियुक्त गरेको हो । उनीहरू एकै ब्याची हुन् । 

२०२४ मा कर्णाली प्रदेशको दैलेखमा जन्मिएका सिंहले ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । प्रहरी निरीक्षकबाट नै सिंह आईजीपीको प्रबल दाबेदार मानिएका थिए । 

२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा हुँदा पनि सिंह एक नम्बरमै बढुवा भएका थिए । डीएसपी हुँदा सिंहले गोरखा, दोलखा, नुवाकोट जिल्लाको कमाण्ड सम्हालेका थिए ।

२०६९ सालमा डीएसपीबाट प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि सिंह एक नम्बरमै बढुवा भए । एसपी हुँदा सिंहले दाङ र पर्सा जिल्ला प्रमुख भएर कमाण्ड सम्हालेका थिए । 

२०७४ मा उनी दाङ प्रहरी प्रमुख हुँदा तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए । उक्त अपहरण एक चर्चित घटना थियो ।

श्रेष्ठको दाङका टीकाराम घर्तीले आफ्नै छोरी प्रयोग गरेर हनी ट्रयाप गरेर अपहरणपछि सल्यानको जंगलमा हत्या गरेका थिए । घटना भएको साढे दुई वर्षपछि २०७६ मा जिल्ला अदातल दाङले घर्तीलाई २० वर्ष कैदको फैसला सुनाएको थियो ।

त्यसपछिको एसएसपी बढुवामा भने सिंह पछि परे । एसएसपी हुँदा सिंहले बागमती तालिम केन्द्र र तत्कालीन महानगरीय अपराध महाशाखा हाल उपत्यका अनुसन्धान कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । 

२०७६ मा डीआईजी भएका सिंहले मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरेका थिए । एआईजी बढुवा हुँदा पनि उनले सीआईबीकै प्रमुख भएर काम गरेको अनुभव उनीसँँग छ । 

सिंह व्यवसायिक र अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । नेपाल प्रहरीको आईजीपीमा नियुक्त धीरजप्रताप सिंह संगठनभित्र अनुशासित र स्वच्छ छविका मानिन्छन् । 

उनीसँग प्रहरीको खास–खास ब्युरोमा बसेर काम गरेको अनुभव छ । गत असारदेखि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत थिए । सोही ब्युरोमा हुँदा चैत १७ गते उनी एआईजीमा बढुवा भए । 

उनले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक तह उत्तीर्ण गरेका छन् । निवर्तमान आईजीपी शैलेश थापासहितको टोलीसँगै उनी प्रहरी निरीक्षकबाट प्रवेश गरेका थिए । 

तर उनी वैकल्पिक सूचीमा परेका थिए । उनी प्रहरी जागिरे हुँदा दुईपटक युएन मिसनमा सहभागी भएका छन् भने नेपाल सरकारबाट विभिन्न प्रकारका सातवटा विभूषण प्राप्त गरेका छन् । 

उनीसँगै रवीन्द्रबहादुर धानुक पनि एआईजी बनेका थिए । त्यसअघि केपी शर्मा ओली सरकारको पालामा सहकुलबहादुर थापा र विश्वराज पोखरेल एआईजी बनेका थिए ।

उनी दैलेख जिल्ला नारायण नगरपालिका वार्ड नं ७ विजौरामा जन्मिएका थिए । सिंहलाई गृह मन्त्रालयले सोमबार बिहान ८ः४५ बजे दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ